०७ असार २०८३, आइतबार

गलेश्वर आश्रमको आयोजनामा हुने लक्षचण्डी महायज्ञलाई गण्डकी प्रदेश सरकारले सहयोग गर्ने

साउन २८, २०८२
पाेखरा
गलेश्वर आश्रमको आयोजनामा हुने लक्षचण्डी महायज्ञलाई गण्डकी प्रदेश सरकारले सहयोग गर्ने

गण्डकी प्रदेश सरकारले गलेश्वर आश्रमले पवित्र धार्मिक स्थल देवघाटधाममा आयोजना गर्न लागेको लक्षचण्डी विराट महायज्ञलाई सहयोग गर्ने भएको छ ।

गलेश्वर धामका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजीसँग बुधबार भएको भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहयोग र समर्थनको आश्वासन दिएका हुन् । आश्रमले २०८२ माघ १८ देखि फागुन १७ गतेसम्म देवघाट धाममा लक्षचण्डी विराट महायज्ञ आयोजना गर्दै छ ।

कलियुगमा भगवती महामाया चण्डी एवं भगवान श्रीगणेशको उपासना गर्नाले परिवारमा सुख, शान्ति, समृद्धि र राष्ट्रको अभ्युदय प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यताको अनुसरण गर्दै आश्रमले उक्त महायज्ञ आयोजना गर्न लागेको हो ।

गलेश्वर आश्रम स्थापनाको शतवार्षिकीको अवसरमा आयोजना हुने महायज्ञको उद्देश्य राष्ट्र शान्ति, समृद्धि, आत्मकल्याण, राष्ट्रवासीको सर्वाङ्गीण विकास तथा विश्वबन्धुत्वको भावना जागरण गर्नु रहेको छ ।

महायज्ञका लागि सहयोग र समर्थन जुटाउने तथा विशिष्ट व्यक्तित्वहरूलाई निमन्त्रणा गर्ने उद्देश्यले आश्रमको प्रतिनिधिमण्डल पोखरा पुगेको थियो । प्रतिनिधिमण्डलमा महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजीसँगै आश्रमका पदाधिकारीहरु सहभागी थिए ।

गलेश्वर आश्रम हिन्दू धर्मको सम्वर्द्धन र पवित्र देवघाट धामको ऐतिहासिक, धार्मिक महत्त्वलाई व्यवस्थित गर्ने संकल्प लिएर स्थापना भएको आश्रम हो ।

null

यसको स्थापना अष्टाङ्ग योगसिद्ध योगीराज ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले गरेका हुन् । आश्रमले पवित्र देवघाटधाममा वेद–वेदाङ्ग विद्यालय, यहाँ बसोबास गर्ने साधक सन्त–तिर्थालुका लागि भोजन र बसोबास सहज बनाउने हेतुले अन्न क्षेत्र र घरबारविहीन तथा परिवारबाट परित्यक्त वृद्ध–वृद्धाको कल्याणलाई ध्यानमा राखी सहज एवं सुन्दर कल्पवास निर्माण गरी सञ्चालन गरिरहेको छ ।

आश्रमले देवघाटधाममा बसोबास गर्ने साधक एवं वृद्धवृद्धाको स्वास्थ्य उपचारको लागि धर्मार्थ अस्पताल र एक हजार हाराहारीलाई बास बस्न पुग्ने अतिथि गृह पनि सञ्चालन गरिरहेको छ । अतिथि गृहमा नि:शुल्क भोजन र बसोवासको सुविधा छ ।

अस्पतालले बिरामीलाई स्वास्थ्य जाँच र औषधि नि:शुल्क उपलब्ध गराउँदै आएको छ ।

आश्रमले तिथिअनुसारका धार्मिक अनुष्ठान तथा अन्य धार्मिक क्रियाकलापहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्