
पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले सन् २०२५ को आफ्नो पाँचौं उपाधि जितेको छ । यूइएफए सुपर कपमा टोटनह्यामलाई पेनाल्टी सुटआउटमा हराउँदै पिएसजीले बुधबार पाँचौं उपाधि जितेको हो ।
फ्रेन्च क्लबले खेलको अन्तिम क्षणमा नाटकीय कमब्याक गर्दै पीएसजीले जीत हात पारेको हो । स्टाडियो फ्रिउली (उडिने)मा भएको च्याम्पियन्स लिग र युरोपा लिगका विजेताबीचको वार्षिक प्रतियोगिताको ८५औं मिनेटसम्म टोटनह्याम २–० ले अघि थियो । तर, पीएसजी अन्तिम क्षणमा खेलमा फर्किन सफल भएको हो ।
८६औं मिनेटमा ली काङ–इनले प्रहार गर्दै कमब्याकको संकेत गरेका थिए । इन्जुरी समयको चौथो मिनेटमा गोन्सालो रामोसले बराबरी गोल गर्दै खेललाई २–२ मा पुर्याए ।
पेनाल्टी सुटआउटमा शुरूमा भिटिन्हाले मिस गरेपछि टोटनह्याम २–० ले अघि थियो । तर, मिकी भान डे भेन र माथिस टेलले अवसर गुमाए र पीएसजीले लगातार चार पेनाल्टीमा गो गर्न सफल भयो । अन्तिम निर्णायक प्रहार नुनो मेन्डेसले गर्दै टोलीलाई जीत दिलाए ।