२३ जेठ २०८३, शनिबार
एमसीसी परियोजना

एमसीसीअन्तर्गत साढे १५ करोड डलर मूल्यको २ ठेक्कामा हस्ताक्षर

साउन २९, २०८२
काठमाडौं
एमसीसीअन्तर्गत साढे १५ करोड डलर मूल्यको २ ठेक्कामा हस्ताक्षर

नेपाल र अमेरिकी सरकारको संयुक्त लगानीमा सञ्चालित एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत दुई ठूला ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए-नेपाल)ले बिहीबार दुईवटा ठूला ठेक्का सम्झौतामा हस्ताक्षर गरेको हो ।

एमसीए-नेपालले एन्जेलिक-स्किपर जेभीसँग रातमाटेदेखि न्यू दमौली र वाइबा-सलासर जेभीसँग न्यू दमौलीदेखि न्यू बुटवलसम्मको प्रसारण लाइन निर्माणका लागि सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ । 

यी दुई ठेक्काहरूको कूल मूल्य १५ करोड ४५ लाख अमेरिकी डलर रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । यसअन्तर्गत १८० किलोमिटर ४०० केभी प्रसारण लाइनको डिजाइन, जडान, परीक्षण र सञ्चालन गरिनेछ । यी लाइनहरू कूल २९७ किलोमिटर प्रसारण लाइन आयोजनाको हिस्सा हुन् ।

हस्ताक्षर समारोहमा एमसीसीका कार्यवाहक नायब उपाध्यक्ष जोन विङ्गल, अर्थ सचिव तथा एमसीए-नेपाल बोर्डका अध्यक्ष घनश्याम उपाध्याय, नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्स, एमसीसीका आवासीय देशीय निर्देशक डायान फ्रान्सिस्को र एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टको उपस्थिति थियो । समारोहमा नेपाल विद्युत् प्राधिकरण र अर्थ मन्त्रालयका उच्च अधिकारीहरू पनि सहभागी थिए ।

एमसीसीका कार्यवाहक नायब उपाध्यक्ष जोन विङ्गलले यो सम्झौतालाई नेपालको विकासमा एक महत्त्वपूर्ण कोसेढुंगा भएको बताए । 
उनले भने, ‘यो प्रसारण लाइन आयोजनाले नेपालभर विद्युत्‌को प्रभावकारी प्रवाह सुनिश्चित गर्नेछ, जसले नेपाली घरपरिवार, उद्योग र उद्यमका लागि विद्युत्‌को मूल्य सस्तो बनाउनुका साथै घरेलु र क्षेत्रीय आर्थिक वृद्धिका अवसरहरू सिर्जना गर्नेछ ।’

उनले यो परियोजनाले नेपाल र अमेरिकाबीचको सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

null

नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत जेसन मिक्सले यो सम्झौतालाई नेपालको समृद्धिप्रतिको अमेरिकाको दीर्घकालीन प्रतिबद्धताको प्रतीक भएको बताए ।

‘यो केवल निर्माण ठेक्का होइन, यो नेपालको दीर्घकालीन विकासलाई गति दिने साझेदारी हो । हामीले विद्युत् लाइन र आर्थिक पूर्वाधारमात्र होइन, नेपालको समृद्ध भविष्य निर्माण गरिरहेका छौं,’ उनले भने, ‘एमसीसी कम्प्याक्ट नेपाल र अमेरिकाबीचको सहकार्यको आधारशीला हो र हामी सबै नेपालीको हितमा अघि बढ्न गर्व गर्छौं ।’

अर्थ सचिव घनश्याम उपाध्यायले अमेरिकी सरकारको वित्तीय सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै यो परियोजनालाई नेपाल सरकारको निरन्तर समर्थन रहने प्रतिबद्धता जनाए । उनले भने, ‘यो आयोजनाले नेपालको प्रसारण लाइन र सबस्टेसन निर्माणको योजनालाई मूर्त रूप दिनेछ र हामी यसलाई सफल बनाउन प्रतिबद्ध छौं ।’

एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले यो सम्झौतालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा चित्रण गरे । ‘यो सम्झौता नेपाल सरकार र सबै सरोकारवालाहरूको साझा प्रतिबद्धताको परिणाम हो । हामी निरन्तर सहकार्यमार्फत् यसको सफल कार्यान्वयनमा केन्द्रित छौं,’ उनले भने ।

यो परियोजना २०१७ मा हस्ताक्षर भएर २०२३ अगस्त ३० मा कार्यान्वयनमा आएको हो । यसले नेपालको विद्युत् आपूर्तिको विश्वसनीयता बढाउन र यातायात लागत घटाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

एमसीए-नेपालले बाँकी २९७ किलोमिटर प्रसारण लाइनको निर्माणका लागि यो वर्षको अन्त्यसम्ममा थप बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्