
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभाग काठमाडौंका निर्देशक सचिन्द्र कुमार यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ ।
सीडीई यादवले ९६ लाख ८५ हजार ५५३ रूपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्दै बिहीबार आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
यादवले सार्वजनिक पदमा रहँदा गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको देखिएको हुँदा जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी कायम गरिएको छ ।
सार्वजनिक सेवाको पदमा बहाल रहँदा यादवले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
आयोगको अनुसन्धानमा यादवले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टि भएपछि आरोपपत्र दायर गरिएको पौडेलले जानकारी दिए ।