
आफ्नो समयका प्रभावशाली भारतीय हकी खेलाडी भेष पेसको बिहीबार निधन भएको छ । कोलकाताको एक अस्पतालमा ८० वर्षको उमेरमा उनको निधन भएको समाचारमा जनाइएको छ ।
उनी आफ्नो समयका प्रभावशाली खेलाडी थिए । उनले भारतीय हकी टोलीको तर्फबाट ओलम्पिक पनि खेलेका थिए । उनले सन् १९७२ मा म्युनिख ओलम्पिकमा सहभागिता जनाएका थिए ।
उक्त ओलम्पिकमा भारतीय टोलीले रजत पदक जितेको थियो । भेष पेस चर्चित टेनिस खेलाडी लिएन्डर पेसका पिता हुन् । सक्रिय खेलजीवनमा उनी मिडफिल्डरको भूमिकामा खेल्थे ।
भेष पेस स्पोर्टस मेडिसिनका चिकित्सक पनि थिए । उनले लामो समय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को एन्टी डोपिङ विभागमा पनि काम गरेका थिए ।
भेष पेससहितको भारतीय टोलीले सन् १९७१ मा बार्सिलोनामा सम्पन्न विश्वकप हकीमा पनि रजत पदक जितेको थियो । उनले चर्चित बंगाली साहित्यकार माइकल मधुसूदनको परिवारकी सदस्य जेनिफर डटनसँग विवाह गरेका थिए ।
भेष पेसकी पत्नि जेनिफर पनि बास्केटबल खेलाडी थिइन् । जेनिफरले सन् १९७२ मा सम्पन्न गृष्मकालीन ओलम्पिकमा भारतीय बास्केटबल टोलीको प्रतिनिधित्व गरेकी थिइन् । उनी सन् १९८२ भारतीय बास्केटबल टोलीको कप्तान पनि बनेकी थिइन् ।
भेष पेसका छोरा लिएन्डर पेस पनि चर्चित टेनिस खेलाडी हुन् । लिएन्डर पेसले मिक्स डबल्स स्पर्धामा चारवटै ग्रान्डस्लाम प्रतियोगिताको उपाधि जितेका छन् ।