
सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा अर्को मुद्दामा भ्रष्टाचारी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ तथा न्यायाधीश विदुर कोइरालाको बिहीबारको इजलासले थापासहित तीन जनालााई नदीजन्य पदार्थ उत्खनन् गरेर हानिनोक्सानी गरेको मुद्दामा दोषी ठहर गरेको छ ।
अदालतले थापा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल र सागर पौडेललाई दोषी ठहर गर्दै जनही १० करोड ९ लाख ७८ हजार २९९ रूपैयाँ १३ पैसा जरिवाना र ८/८ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।
बागमती नगरपालिकाको ३० करोड २९ लाख ३४ हजार ८९७ रूपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थ हिनामिना गरी उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर गरेको ठहर गर्दै अदालतले जरिवाना र सजाय निर्धारण गरेको हो ।
साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम तीनै जनाबाट ४० लाख ३९ हजार १३१ रूपैयाँ ९७ पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्ने समेत अदालतले फैसला गरेको छ ।
उनीहरू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
निलम्बित मेयर थापा यसअघि पनि विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका छन् ।
