१९ असार २०८३, शुक्रबार
सफल घरानाभित्रको एउटा पारिवारिक झमेलाको कथा

शिबेन्द्र र जेठी श्रीमतीबीचको मिलापत्र दूषित मनोभावले गरिएको अदालतको ठहर, बदर गर्ने फैसला

साउन ३०, २०८२
काठमाडौं
शिबेन्द्र र जेठी श्रीमतीबीचको मिलापत्र दूषित मनोभावले गरिएको अदालतको ठहर, बदर गर्ने फैसला
तस्वीरमा बायाँबाट क्रमश: शिबेन्द्र, अर्चना र बवी

शिबेन्द्रबहादुर बस्नेत र उनकी जेठी श्रीमती अर्चना बस्नेतबीच अंश मुद्दामा भएको मिलापत्र मोरङ जिल्ला अदालतले बदर गरिदिएको छ ।

दूषित मनोभावले अस्वाभाविक सर्तहरू राखी मिलापत्र गरिएको ठहरसहित जिल्ला अदालतले त्यसलाई बदर गरिदिएको हो ।

कान्छी श्रीमती बवी रायमाझीलाई अंश दिनुनपर्ने दूषित मनसायले शिबेन्द्र र अर्चनाबीच मिलापत्र गरिएको अदालतको ठहर छ ।

अंशचलन मुद्दामा उनीहरूबीच २०७९ माघ १० गते प्रमाणीकरण भएको मिलापत्र तथा सोबमोजिम कुनै काम कारबाही भएको रहेछ भने त्यो पनि बदर हुने अदालतको फैसला छ ।

शिबेन्द्रकी जेठी श्रीमती अर्चनाले मोरङ जिल्ला अदालतमा श्रीमान् शिबेन्द्रलाई प्रतिवादी बनाई दायर गरेको अंश मुद्दामा नाटकीय ढंगले मिलापत्र भएको थियो ।

शिबेन्द्रको दुई परिवार भएपनि अर्चनाको नाममा रहेको सम्पत्तिमा अरूको हक नलाग्ने  गरी मिलापत्र गरिएको थियो ।

त्यसपछि कान्छी श्रीमती बवीले मिलापत्र बदर गराई पाऊँ भन्ने मागदाबीसहित सोही जिल्ला अदालतमा फिरादपत्र दायर गरेकी थिइन् ।

बवीले दिएको फिरादपत्रमा २०८२ असार ४ गते फैसला गर्दै न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले शिबेन्द्र र अर्चनाबीचको मिलापत्र बदर गरिदिएको हो ।

शिबेन्द्रको पृष्ठभूमि र घटनाक्रम

शिबेन्द्रबहादुर बस्नेत सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा नेपाल सरकारका पूर्वमन्त्री सुरेन्द्रबहादुर बस्नेतका कान्छा छोरा हुन् ।

अर्को परिचय, उनी पारिवारिक लगानीबाट चलेको बुद्ध एयरका पूर्व निर्देशक वा शेयर होल्डरसमेत हुन् । अर्थात्, बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतका भाइ हुन् ।

शिबेन्द्रबहादुर बस्नेत

बुद्ध एयरको शुरूआत भएको केही वर्षमै शिबेन्द्र आफ्नै एयरलाइन्स सञ्चालन गर्ने भन्दै २०५७ सालमै आफ्नो भागको सबै शेयर बेचेर निस्किएका थिए । त्यसपछि उनले बुद्ध एयरकै कैयन कर्मचारीलाई आफूसँगै लगेर माउन्टेन एयर सञ्चालनमा ल्याएका थिए ।

बुद्ध एयरबाटै लगेका कर्मचारीमध्ये एक थिइन्, बवी रायमाझी । बवी त्यतिबेला एयर होस्टेस थिइन् र पछि शिबेन्द्रकी कान्छी श्रीमतीको रूपमा रहिन् ।

तर, व्यवस्थापनमा कमजोर बनेपछि माउन्टेन एयर सञ्चालनमा आएको केही समयमै बन्द हुन पुग्यो । विभिन्न बैंक तथा नागरिक उड्डयन प्राधिकरणको समेत कालोसूचीमा पर्न गयो ।

त्यसपछि माउन्टेन एयरका विमानहरू बेचेर उनले आफ्नी जेठी छोरीका नाममा शिवानी फ्लाइङ स्कूल खोले ।

चितवनमा खोलिएको उक्त फ्लाइङ स्कूलमा अध्ययन गरेका करिब ३ दर्जन विद्यार्थीसँग पैसा उठाए पनि उनीहरूलाई शिक्षा तथा प्रमाणपत्र दिन सकेनन् र त्यो पनि बन्द भयो ।

त्यसपछि उनी माओवादी द्वन्द्वकालको असर र ज्यानकै सुरक्षामा खतरा रहेको कारण देखाउँदै अमेरिका भासिए ।

यता कुनै समय बुद्ध एयरमा एयर होस्टेस रहेकी बवी रायमाझीका तर्फबाट छोरी (ओजश्वी बस्नेत)को समेत जन्म भइसकेको थियो ।

शिबेन्द्रले बवीलाई जावलाखेलमा रहेको आफ्नो पुर्खौली घरनजिकै राखेका थिए । बवी कान्छी श्रीमती हुन् भन्ने कुरा शिबेन्द्रका बुवाआमादेखि परिवारका सबै सदस्यलाई जानकारी थियो ।

कान्छी छोरी जन्मिएको केही समयमै अमेरिका भासिएका उनले त्यहीँबाट बवीलाई श्रीमती भनी खर्च समेत पठाइरहेका थिए ।

लामो समय अमेरिकामा रहेका शिबेन्द्र बुवा सुरेन्द्रबहादुर बस्नेतको मृत्यु हुनुभन्दा केही समय अगाडि मात्रै नेपाल आएका थिए ।

यता बुवा सुरेन्द्रले पारिवारिक विरासत रहेको बुद्ध एयरको शेयरमध्ये पहिले नै वीरेन्द्रको नाममा रहेको २० प्रतिशतबाहेक आफ्नो नाममा रहेको ८० प्रतिशत परिवारका सदस्यहरूको नाममा गरिदिएका थिए ।

परिवारका सदस्यको नाममा गर्दा दामासाहीले नै शेयर बाँडफाँड गरिदिएका थिए । शिबेन्द्र देशबाहिर रहेको र व्यवस्थापनमा कमजोर रहेको भन्दै शिबेन्द्रले पाउने ४० प्रतिशत शेयर सुरेन्द्रले शिबेन्द्रकी जेठी श्रीमती अर्चना बस्नेत र तीन छोराछोरीको नाममा गराइदिएका थिए ।​

अदालतले गरेको त्यो मिलापत्र र फैसला बदरको प्रकरण

बवी रायमाझीले आफू शिबेन्द्रबहादुर बस्नेतको कान्छी श्रीमती रहेको दाबी गर्दै २०७९ माघ १० गते मोरङ जिल्ला अदालतबाट भएको मिलापत्र बदर गरी आफ्नो अंश हक सुरक्षित गरी पाऊँ भन्दै २०८० जेठ १८ गते सोही जिल्ला अदालतमा फिराद पत्र दायर गरेकी थिइन् ।

बवी रायमाझी

शिबेन्द्रका दुई पत्नीमध्ये जेठी पत्नी अर्चना बस्नेत र कान्छी पत्नी आफू (बवी रायमाझी) रहेको उनले फिरादपत्रमा उल्लेख गरेकी थिइन् ।

जेठी पत्नी अर्चना बस्नेत तर्फबाट ३ सन्तान शिवानी बस्नेत, देवयानी बस्नेत र आदर्श बस्नेतको जायजन्म भएको तथा आफ्नो तर्फबाट छोरी ओजश्वी बस्नेतको जन्म भई एकासगोलमै रहँदै आएको तथा आफूहरूबीच अंशबण्डा नभएको फिरादपत्रमा उल्लेख थियो ।  

बवीले फिरादपत्र दायर गर्नुको पृष्ठभूमि जान्न केही समय अगाडि जानुपर्ने हुन्छ ।

जेठी श्रीमती अर्चनाले शिबेन्द्र र आफूबीच २०४६ असोज १६ गते विवाह भएको र आफूहरूबाट शिवानी बस्नेत, देवयानी बस्नेत तथा आदर्श बस्नेतको जन्म भई ५ जना अंशियार रहेकाले २०६० असोज २५ गतेलाई मानो छुट्टिएको मिति कायम गरी ५ भागको १ भाग अंश दिलाई पाऊँ भनी शिबेन्द्रविरुद्ध २०७९ माघ ९ गते मोरङ जिल्ला अदालतमा अंश मुद्दा दायर गरेकी थिइन् ।

अर्चनाले फिरादपत्र साथ पेश गरेको स्वघोषणा फारममा स्थायी वतन ललितपुर महानगरपालिका वडा नम्बर ४ रहेको उल्लेख थियो ।

आफ्नो नाममा अदालतबाट जारी भएको म्याद शिबेन्द्रले २०७९ माघ १० गते (भोलिपल्टै) बुझेका थिए । त्यसपछि शिबेन्द्रले २०६० असोज २५ गते नै अर्चना र आफूबीच मानो छुट्टिएकाले सम्पत्तिमा अर्चनाको कुनै दाबी नभएको तथा उनलाई अंश दिनुनपर्ने जिकिरसहित प्रतिउत्तर पेश गरेका थिए ।

वादी अर्चना बस्नेत र शिबेन्द्र बस्नेतबीच २०६० असोज २५ गते मानो छुट्टिएको मिति कायम गरी अर्चना बस्नेतले अंशवापत घरसारमा ५ लाख रूपैयाँ बुझिसकेको समेत प्रतिउत्तरमा दाबी गरिएको थियो ।

त्यसबाहेक वादी (अर्चना)को नाममा भएको चलअचल सम्पत्तिमा प्रतिवादी (शिबेन्द्र)ले दाबी नगर्ने, ३ जना छोराछोरीको अंश भाग प्रतिवादी (शिबेन्द्र)को जिम्मामा रहने सर्तसहित माघ १० गते नै उनीहरूबीच गरिएको मिलापत्र अदालतले प्रमाणीकरण समेत गरिदिएको थियो । रोचक कुरा त के भने– यो मुद्दा र मिलापत्रको प्रक्रिया २ दिनभित्रै टुंगिएको थियो ।

यसरी हतारमा शिबेन्द्र र अर्चना अदालत पुग्नु र मिलापत्र गर्नुमा बवीले दायर गरेको पुरानो मुद्दा कारण थियो । कान्छी श्रीमती बवीले शिबेन्द्र, उनकी आमा, दाजुभाइ समेतलाई प्रतिवादी बनाई २०७९ जेठ ९ गते अंश मुद्दा दायर गरेकी थिइन् ।

उक्त मुद्दामा प्रारम्भिक सुनुवाइ भई कारबाही समेत अगाडि बढेको थियो । तर, पछि दायर भएको मिलापत्र बदर मुद्दामा फैसला भएपछि जगाएर कारबाही गर्नेगरी २०८१ फागुन १५ गते मुलतबीमा राख्ने आदेश भएको थियो ।

बवीले अंश मुद्दासँगै शिबेन्द्रविरुद्ध दायर गरेको घरेलु हिंसा र मानाचामलको मुद्दा समेत २०८१ फागुन १५ गते मुलतबीमा राख्ने आदेश भएको थियो । ती तीनवटै मुद्दाहरू दायर गर्दा बवीले आफ्नी छोरी ओजश्वी बस्नेतको जन्मदर्ता प्रमाणपत्र प्रमाणको रूपमा पेश गरेकी थिइन् ।

ललितपुर महानगरपालिका वडा नम्बर ४ को स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट २०७९ पुस २० गते जारी भएको ओजश्वीको जन्मदर्ताको प्रमाणपत्रमा बाजे सुरेन्द्रबहादुर बस्नेत, बुवा शिबेन्द्रबहादुर बस्नेत र आमा बवी  रायमाझी रहेको उल्लेख थियो ।

यही मुद्दा दायर भएपछि (२०७९ माघ ९ गते) हो, अर्चना शिबेन्द्रलाई विपक्षी बनाई अंश मुद्दा लिएर मोरङ जिल्ला अदालत पुगेको । जुन मुद्दामा भोलिपल्टै प्रतिवादी (शिबेन्द्र)को तर्फबाट प्रत्युत्तर  पेश भएर त्यही दिन मिलापत्र समेत भएको थियो ।

प्रतिउत्तर पेश गर्दा शिबेन्द्रले बवी आफ्नो श्रीमती नरहेको तथा ओजश्वी पनि आफ्नो छोरी नभएको दाबी गरेका थिए ।

अर्चना बस्नेत

अर्चना र शिबेन्द्र दुवैले भरेको स्व-घोषणा फारममा दुवैको स्थायी वतन, हाल बसोबास गरेको वतन, म्याद तामेल गर्ने वतन ललितपुर महानगरपालिका वडा नम्बर ४ उल्लेख गरेका थिए । जबकि शिबेन्द्रले अमेरिकी नागरिकता समेत लिइसकेका छन् । तर, उनले प्रत्युत्तर नेपाली नागरिककै हैसियतमा दिएका छन् ।

उनीहरूको स्थायी वतन मोरङमा रहेको कुनै वस्तुगत प्रमाण पेश भएको थिएन । सोही विषयलाई आधार मानेर त्यसअघि मोरङ जिल्ला अदालतको क्षेत्राधिकार नै नभएको अवस्थामा ललितपुर जिल्ला अदालतमा दायर हुनुपर्ने मुद्दा मोरङ जिल्ला अदालतमा दायर भएको हुनाले अंशचलनको मुद्दा दायर गरी भएको मिलापत्र प्रथम दृष्टिमा नै अधिकार प्राप्त अदालतबाट नभएको न्यायाधीश चित्रबहादुर गुरुङले गरेको फैसलामा उल्लेख छ ।

त्यसबाहेक दायर भएको उक्त अंशचलन मुद्दामा अन्य अंशियारहरूलाई समेत वादी/प्रतिवादी नबनाई तथा सामेल नगराई मात्र अर्चना र शिबेन्द्रबीच मिलापत्र भएको विषयमा पनि अदालतले प्रश्न उठाएको छ ।

‘अंशचलन मुद्दामा सोही मुद्दामा उल्लेख भएका सबै अंशियारहरूलाई समेत वादी प्रतिवादी नबनाई तथा सामेल नगराई केवल अर्चना बस्नेत र शिबेन्द्रबहादुर बस्नेतले पूर्वनियोजित रूपमा निजहरू २ जना मात्रै उपस्थित भई पहिलो दिन फिराद दायर गर्ने र दोस्रो दिन मिलापत्र गर्ने गरेको देखिन्छ । उक्त अंशचलन मुद्दामा अंशवण्डा गर्नुपर्ने सबै सगोलको सम्पत्ति र ऋण धनको फाँटवारी समेत नदेखाई घरसारमा नगद बुझेको भनी मिलापत्र गरेको देखिन्छ,’ गुरुङले गरेको फैसलामा उल्लेख छ ।

त्यति मात्र होइन, मिलापत्रको सर्तहरूमाथि पनि अदालतले प्रश्न उठाएको छ ।

‘मिलापत्रको सर्तहरू हेर्दा पनि अर्चना बस्नेत र शिबेन्द्रबहादुर बस्नेतबीच २०६० असोज २५ गते मानो छुट्टिएको मिति कायम गरिएको छ । अर्चना बस्नेत र शिबेन्द्रबहादुर बस्नेतले २०६० असोज २५ गते मानो छुट्टिएको मिति कायम गर्नुपर्ने कुनै वस्तुगत आधार देखाउन सकेको देखिँदैन,’ फैसलामा भनिएको छ ।

ओजश्वी बस्नेत जन्मनुभन्दा ठीक १० महिना अगाडिको मिति राखी प्रतिवादीहरूले मानो छुट्टिएको मिति उल्लेख गर्नुले पनि ओजश्वी बस्नेत गर्भमा बस्नुभन्दा नै अगाडि नै अर्चनासँग मानो छुटिइसकेको भनि देखाउन खोजिएको फैसलामा उल्लेख छ ।

‘त्यस्तै, मिलापत्रको सर्तको रूपमा अर्चना बस्नेतको नाममा भएको चलअचल सम्पत्तिमा शिबेन्द्रबहादुर बस्नेतले दाबी नगर्ने, ३ जना छोराछोरीको अंश भाग शिबेन्द्रबहादुर बस्नेतको जिम्मामा रहने भनी उल्लेख गरेको देखिँदा सो सर्त समेत सामान्य रूपको देखिँदैन । उक्त सर्तले अर्चना बस्नेतको नाममा भएको सम्पत्तिमा अरूको हक नलागोस् भन्ने अभिप्राय देखिन्छ,’ फैसलामा उल्लेख छ ।

माथि उल्लेख गरिएका तथ्य तथा कारणहरूलाई आधार मान्दै अदालतले मिलापत्रका सर्तहरूलाई अस्वाभाविक मानेको छ ।

‘अंशचलन मुद्दामा भएको मिलापत्रको सर्तहरू अस्वाभाविक रहेकाले उक्त सर्त बन्देजहरूले प्रस्तुत मुद्दाको वादीको हकमा प्रभावित पारेको नै देखिन आयो,’ फैसलामा उल्लेख छ ।

अर्चना बस्नेत र शिबेन्द्र बस्नेतबीच प्रमाणीकरण भएको मिलापत्र अधिकारक्षेत्रविहीन अदालतबाट भएको  हुनाले बदर गरिएको फैसलामा उल्लेख छ ।

‘साथै, अर्चना बस्नेत र शिबेन्द्रबहादुर बस्नेतले एकआपसको दूषित मनोभावले अस्वाभाविक सर्तहरू राखी प्रस्तुत मुद्दाको वादी तथा निजको छोरीको अंश हकलाई प्रत्यक्ष रूपमा प्रभावित हुनेगरी भएको देखिँदा उक्त मिलापत्र मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ को दफा ९२ बमोजिम बदर हुने देखिन आयो,’ फैसलामा भनिएको छ ।

शिबेन्द्र र अर्चनाबीचको मिलापत्र बदर भए पनि अंशविवाद भने टुंगिएको छैन । बवीले अहिलेसम्म सम्पत्ति पाएकी छैनन् । साथै, छोरी ओजश्वीले अहिलेसम्म नागरिकताको प्रमाणपत्र समेत पाउन सकेकी छैनन् ।

हेर्नुहोस्, जिल्ला अदालतको फैसला :

 

salt training

कमेन्ट गर्नुहोस्