
सधैँजसो खेलाडी, खेल पदाधिकारी र कर्मचारीहरूको बाक्लो उपस्थिति हुने त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा शुक्रबार बिहान रमाइलो दृश्य देखियो ।
राखेप परिसरभित्रै रहेको दशरथ रंगशालामा एकातिर फरक शैलीको एथलेटिक्स प्रतियोगिता आयोजना हुँदैथियो । ‘अड इभेन्ट्स रन’ नाम दिइएको उक्त प्रतियोगितामा आफ्नो उत्कृष्टता सिद्ध गर्न राष्ट्रिय खेलाडीहरूबीच प्रतिस्पर्धा हुँदैथियो ।
अर्कोतिर, राखेप मुख्यालयमा कर्मचारीहरू आ–आफ्नो कार्यकक्षमा प्रवेश गरिरहेका थिए । एकाएक, परिषद मुख्यालयमा प्रहरीको एउटा गाडी आएर रोकियो । गाडीबाट बर्दीसहितका प्रहरीहरू ओर्लिएर चारैतिर छरिए । यो दृश्यले कर्मचारीहरू नै अन्योलमा परेको देखिन्थ्यो ।
राखेप परिसरमा प्रहरी प्रवेश गर्नुको कारण कसैलाई थाहा थिएन । राखेपका सदस्यसचिव परिषद् आइपुगेका थिएनन् । केही बोर्ड सदस्य भने राखेप परिसरमा उपस्थित भइसकेका थिए । आफूहरू सुरक्षाका लागि आएको प्रहरीले बताए पनि ‘किन र कसको सुरक्षा ?’ कसैलाई थाहा थिएन ।
अर्कोतिर, दशरथ रंगशालाभित्र आयोजित एथ्लेटिक्स प्रतियोगितामा राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई मुख्य अतिथिको रुपमा निम्त्याइएको रहेछ । कार्यक्रम शुरू भएको लामो समयपछि उनी दशरथ रंगशाला आए, कार्यक्रममा सहभागी हुनुका साथै मन्तव्य व्यक्त गरेर तत्कालै फर्किए पनि ।
त्यसपछि, सदस्यसचिव घिसिङ राखेप मुख्यालयस्थित आफ्नो कार्यकक्षतिर नलागेर अन्तै कतै हिँडे । १२:३० बजिसक्दा पनि प्रहरी राखेप परिसरमै थिए । तर, त्यतिबेलासम्म पनि सदस्यसचिव घिसिङ भने कार्यालय पुगेका थिएनन् ।
खासमा, घटनाको अर्को पाटो झनै रोचक रहेछ । सदस्यसचिवको पछिल्लो गतिविधिबाट रुष्ट बनेका विभिन्न खेल संघका पदाधिकारीहरू ज्ञापनपत्र बुझाउन र आफ्नो गुनासो पोख्न राखेप आउने कार्यक्रम तय भएको रहेछ ।
पछिल्लो समय केही राष्ट्रिय खेल संघमा चर्को विवाद देखिँदै आएको छ । केही संघको विवाद त न्यायालयसम्म पुगिसकेको छ । यिनै खेल संघका पदाधिकारीहरूले ज्ञापनपत्र बुझाउने र राखेपका सदस्यसचिवसँग गुनासो पोख्ने योजना अघिल्लो दिन नै बनाएका रहेछन् ।
खासगरी, नेपाल ब्याडमिन्टन संघसँग जोडिएको पछिल्लो घटनाले यस्तो परिस्थिति निम्त्याएको जानकारी ज्ञापनपत्र बुझाउन राखेप पुगेका एक खेल संघका पदाधिकारीले लोकान्तरलाई दिए ।
उनका अनुसार, राखेप बोर्डले नै अवैधानिक घोषणा गरेको ब्याडमिन्टन संघको गतिविधिलाई सदस्यसचिवले प्रश्रय दिएपछि यस्तो स्थिति सिर्जना भएको हो ।
अझ रमाइलो पक्ष त के हो भने, रुष्ट खेल संघका पदाधिकारीहरूले गोप्य रूपमा बनाएको योजनाको सुइँको पहिले नै सदस्यसचिव घिसिङले पाएका रहेछन् । त्यसपछि उनी दशरथ रंगशालाको कार्यक्रममा छोटो समय उपस्थित भएर त्यताबाट अन्तै लागेका रहेछन् ।
सदस्यसचिव घिसिङ दशरथ रंगशालाको कार्यक्रममा उपस्थित हुने जानकारी भने रुष्ट खेल संघका पदाधिकारीहरूलाई पनि रहेनछ । त्यसैले उनीहरू सदस्यसचिव आफ्नो कार्यकक्षमा उपस्थित भएपछि उनलाई ज्ञापनपत्र बुझाउने र गुनासो राख्ने योजनासहित लामो समय प्रतीक्षामा रहे ।
स्रोतका अनुसार, राखेप परिसरमा बाक्लो संख्यामा प्रहरी देखेपछि संघका पदाधिकारीले पनि आफ्नो योजनाको सुइँको सदस्यसचिवले पहिले नै पाइसकेको कुरा बुझे । त्यसैले रुष्ट संघका पदाधिकारीले तत्कालै अर्को योजना बनाए र सदस्यसचिवको सचिवालयमा ज्ञापनपत्र बुझाउने निर्णय लिए ।
‘लामो समय प्रतीक्षा गर्दा पनि सदस्यसचिव कार्यालय नआएपछि हामीले उहाँको सचिवालयमा ज्ञापनपत्र बुझाउने र सदस्यसचिवसँग भेट्ने समय मिलाउने निर्णय गर्यौं,’ ज्ञापनपत्र बुझाउन राखेप पुगेका संघका एक पदाधिकारीले भने ।
उनले आफूहरूको योजना सदस्यसचिवलाई ज्ञापनपत्र बुझाउने मात्र भएको बताए ।
‘हामी सदस्यसचिव ज्यूलाई ज्ञापनपत्र बुझाउन र आफ्नो धारणा राख्न चाहन्थ्यौँ । तर, उहाँलाई सूचना दिने व्यक्तिले बढाइचढाइ कुरा लगाएको हुन सक्छ । त्यसैले उहाँ कार्यालयमा उपस्थित हुनुभएन,’ ती पदाधिकारीले भने ।
राखेप सदस्यसचिवले ब्याडमिन्टन संघको विषयलाई लिएर दोहोरो मापदण्ड अपनाएको आरोप पनि ती पदाधिकारीले लगाए । राखेप सदस्यसचिवले आफ्नै बोर्डको निर्णयलाई उल्लंघन गरी पुरानो ब्याडमिन्टन संघको गतिविधिलाई सहयोग पुर्याउँदै आएको दाबी पनि उनले गरे ।
‘एकातिर राखेप बोर्डको निर्णयानुसार पुरानो कमिटी अवैधानिक भएको भन्दै ब्याडमिन्टन संघको नयाँ तदर्थ समिति गठन गरिएको छ । अर्कोतिर, राखेपका सदस्यसचिवले भने संघको पुरानै कमिटीलाई सहयोग पुर्याउँदै आएका छन्,’ उनले भने ।
सदस्यसचिव घिसिङलाई ज्ञापनपत्र बुझाउन नेपाल ब्याडमिन्टन संघ तदर्थ समितिका पदाधिकारीसँगै रुष्ट रहेका टेबलटेनिस, उसुलगायतका खेलका पदाधिकारीहरू पनि राखेप पुगेका थिए ।
राखेपका सदस्यसचिव घिसिङले भुटानको राजधानी थिम्पुमा अगस्ट १५ देखि २२ तारिखसम्म आयोजना हुने जुनियर साउथ एसियन रिजन च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीलाई गत सोमबार बिदाइ गरेपछि यो विवाद थप जटिल बनेको हो ।
राखेपले मान्यता नदिएको रामजी बहादुर श्रेष्ठ अध्यक्ष रहेको ब्याडमिन्टन संघमार्फत नेपाली टोलीले भुटानमा जारी प्रतियोगितामा सहभागिता जनाएको हो । रामजी अध्यक्ष रहेको यो कमिटीलाई राखेपले मान्यता दिएको छैन ।
२०८० कात्तिक १४ गते भएको निर्वाचनले रामजीलाई संघको अध्यक्षमा निर्वाचित गरेको थियो । तर, उक्त निर्वाचन नेपाली खेलकुदलाई निर्देशित गर्ने प्रचलित कानूनअनुरूप नभएको भन्दै राखेपले मान्यता दिन अस्वीकार गरेको थियो ।
त्यसपछि राखेपको २०८१ चैत १९ गते बसेको १२२औँ बोर्ड बैठकले शुभाष श्रेष्ठको संयोजकत्वमा संघको नयाँ तदर्थ समिति गठन गरेको थियो । उक्त तदर्थ समितिलाई निर्धारित समयभित्र कानून बमोजिम नयाँ निर्वाचन गराउने जिम्मेवारी दिइएको थियो ।
त्यसपछि रामजी अध्यक्ष रहेको संघका पदाधिकारीले आफूहरूमाथि अन्याय भएको दाबीसहित उच्च अदालत पाटनमा राखेप समेतलाई विपक्षी बनाउँदै मुद्दा दर्ता गराएका थिए । यो मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छ ।
यसबीचमा अपहेलनासम्बन्धी अर्को मुद्दा पनि थपिएको छ । अपहेलना मुद्दामा पनि अदालतले राखेपसँग जवाफ माग गरेको छ । अहिले आएर राखेप नेतृत्वले एकाएक ब्याडमिन्टन संघको विषयमा दोहोरो मापदण्ड अपनाएर विवादलाई झनै जटिल मोडमा पुर्याएको आरोप तदर्थ समितिका पदाधिकारीको छ ।
अपहेलना मुद्दामा जवाफ फर्काउँदै राखेपले आफूहरूले अदालतको मानहानी नगरेको दाबी गरेको छ । आफ्नो दाबीलाई पुष्टि गर्न राखेप सदस्यसचिवले भुटानमा हुने जुनियर साउथ एसियन रिजन च्याम्पियनसिपमा सहभागिता जनाउने टोलीलाई औपचारिक रूपमा राखेपले नै बिदाइ गरेको पनि उल्लेख गरेका छन् ।
जुनियर साउथ एसियन रिजन च्याम्पियनसिपमा सहभागिता जनाउन भुटान जाने टोलीलाई सहजीकरण गर्न राखेपले छुट्टै पत्र पनि लेखिदिएको छ । ‘जो जससँग सम्बन्धित छ’ विषय राखेर लेखिएको उक्त पत्रमा १४ सदस्यीय टोलीलाई भुटान जान राखेपबाट अनुमति प्रदान गरिएको उल्लेख छ ।
खेलकुदमन्त्री तेजुलाल चौधरी भने राखेप बोर्डको निर्णयानुसार, शुभाष श्रेष्ठको संयोजकत्वमा गठित तदर्थ समिति नै आधिकारिक भएको बताउँछन् । युवा तथा खेलकुदमन्त्री राखेपका अध्यक्ष पनि हुन् ।