
अस्ट्रेलियामा जारी टप इन्ड सिरिज क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपाली टोलीले एनटी स्ट्राइकबाट जीतका लागि एक सय ७८ रनको लक्ष्य पाएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको एनटी स्ट्राइकले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ७७ रन बनायो । एनटी स्ट्राइकका ओपनर ब्याट्सम्यान डी’आर्ची सर्टले अर्धशतक बनाए ।
उनले केवल ३४ बलमा एक छक्का र सात चौका पनि प्रहार गरे । थोमस एन्ड्र्यूजले पनि टोलीको खातामा अविजित ३३ रन थपे । जोर्डन सिल्कले पनि १९ रन बनाए ।
नेपाली टोलीका बलर सन्दीप लामिछानेले तीन विकेट लिए । उनले चार ओभरमा ३८ रन खर्चिए । साहब आलमले पनि दुई विकेट हात पारे । उनले चार ओभरमा ३२ रन खर्चिए ।
नेपाली टोलीका बलर रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले पनि एक/एक विकेट हात पारे । नेपाली बलरहरूले अतिरिक्त रूपमा २४ रन खर्चिएका थिए ।
आईसीसी पुरुष टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा नेपालले यो शृंखला खेलेको हो । टप इन्ड सिरिज अगस्त १४ देखि २४ तारिखसम्म सञ्चालन हुनेछ ।
उक्त शृंखला सकिएलगत्तै नेपाली टोली अस्ट्रेलियामै अर्को शृंखलामा सहभागी हुनेछ । दोस्रो शृंखलामा नेपाली टोलीले कुल पाँच खेल खेल्नेछ ।