
भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा शुक्रबार पाटन संग्रहालयमा भव्य सांस्कृतिक साँझको आयोजना गरिएको छ ।
साँझको प्रमुख आकर्षण एन. रमणकुट्टीको नेतृत्वमा आएको भारतको ख्यातिप्राप्त समूहद्वारा प्रस्तुत कथकली नृत्य थियो । रंग, भेषभूषा र सजीव अभिव्यक्तिले भरिएको यस नृत्यले उपस्थित दर्शकलाई भारतको समृद्ध सांस्कृतिक सम्पदाको अद्वितीय झलक दिएको भारतीय दूतावासले जनाएको छ ।

कार्यक्रममा भारत र नेपालबीचको ऐतिहासिक मित्रता, आपसी सद्भाव र सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने सन्देश प्रेषित गरिएको थियो।
कार्यक्रममा नेपालका उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, परराष्ट्र मन्त्री डा. आर्जु राणा देउवा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु महर्जनलगायत गण्यमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो ।




