
अस्ट्रेलियामा जारी टप इन्ड सिरिज क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपाली टोलीले बंगलादेशको ‘ए’ टोलीबाट जीतका लागि १८७ रनको लक्ष्य पाएको छ ।
टस जितेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८६ रन बनायो । बंगलादेशका लागि ओपनर ब्याट्सम्यान जिसन आलमले उत्कृष्ट अर्धशतकीय पाली खेले ।
उनले टोलीका लागि ७३ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका जिसन आलमले पाँच छक्का र चार चौका पनि प्रहार गरे ।
अर्का ओपनर मोहम्मद नइमले पनि टोलीको खातामा २५ रन थपे । उनले १८ बलमा एक छक्का र दुई चौका प्रहार गरे । दुवै ओपनर ब्याट्सम्यानले ६२ रनको साझेदारी गरेका थिए ।
आफिफ होसैनले पनि अविजित ४८ रन बनाए । उनले केवल २३ बलमा नौ चौका पनि प्रहार गरे । नेपाली टोलीका बलर रिजन ढकालले दुई तथा करण केसी, नन्दन यादव र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।
नेपाली टोली आफ्नो पहिलो खेलमा भने पराजित भएको थियो । शुक्रबार खेलिएको खेलमा अस्ट्रेलियाकै एनटी स्ट्राइकले नेपाली टोलीलाई ४२ रनले हराएको थियो ।
उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको एनटी स्ट्राइकले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ७७ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रनमात्र बनाउन सकेको थियो ।
नेपालका लागि कुशल मल्लले ३४, गुलसन झाले २६, कप्तान रोहित पौडेलले २३, दीपेन्द्रसिंह ऐरीले १९ रन बनाएका थिए ।
त्यसअघि, एनटी स्ट्राइकका लागि ओपनर ब्याट्सम्यान डी’आर्ची सर्टले अर्धशतक बनाएका थिए । नेपाली टोलीका बलर सन्दीप लामिछानेले तीन र साहब आलमले दुई विकेट लिएका थिए ।
नेपाली टोलीका बलर रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेल पनि एक–एक विकेट हात पारेका थिए । नेपाली बलरहरूले अतिरिक्त रूपमा २४ रन खर्चिएका थिए ।
टप इन्ड सिरिज अगस्त १४ देखि २४ तारिखसम्म सञ्चालन हुनेछ । शृंखलामा नेपालले आफ्नो तेस्रो खेल अगस्त १८ तारिखमा स्टार्ससँग र चौथो खेल १९ तारिखमा हरिकन्ससँग खेल्नेछ ।
नेपालले २० तारिखमा रेनगेड्ससँग पाँचौं र २२ तारिखमा पाकिस्तान ‘ए’ सँग छैटौं खेल खेल्नेछ । यो शृंखला सकिएलगत्तै नेपाली टोली अस्ट्रेलियामै अर्को शृंखलामा सहभागी हुनेछ ।
दोस्रो शृंखलामा पनि नेपाली टोलीले कुल पाँच खेल खेल्नेछ । दोस्रो शृंखलामा नेपाली टोलीले क्रिकेट एसीटीसँग अगस्त २६ तारिखमा पहिलो खेल खेल्नेछ ।
सोही दिन नेपाली टोलीले आफ्नो दोस्रो खेल पनि क्रिकेट एसीटीसँगै खेल्नेछ । अगस्त २८ तारिखमा नेपाली टोलीले साउथ अस्ट्रेलियासँग तेस्रो खेल खेल्नेछ ।
सोही दिन नेपाली टोलीले आफ्नो चौथो खेल पनि साउथ अस्ट्रेलियासँगै खेल्नेछ । नेपाली टोलीले आफ्नो पाँचौं तथा अन्तिम खेल पनि अगस्त ३० तारिखमा साउथ अस्ट्रेलियासँगै खेल्नेछ ।
नेपाली टोलीले यी दुवै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेल्न लागेको हो । एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिता अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।
छनोट प्रतियोगितामा नेपालसहित नौ टोली सहभागी हुनेछन् । नेपाल, जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’ मा छन् । मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) समूह ‘ए’ मा छन् । समूह ‘सी’ मा भने आयोजक ओमान, पपुवा न्यू गिनी र समाओ रहेका छन् ।
अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट तीनवटा टोली आगामी टी–२० विश्वकपमा पुग्नेछन् । आगामी टी–२० विश्वकप सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।