
प्रधानमन्त्री केपी शर्मा ओलीले नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले सुरुङको ९३ प्रतिशत काम पूरा भएको जानकारी दिएका छन् ।
उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सुरुङमार्ग छिट्टै सञ्चालनमा आउने जानकारी दिएका हुन् ।
सुरुङ मार्ग सञ्चालनमा आएसँगै काठमाडौं उपत्यका भित्रिने–निस्कने यात्रुहरूलाई सहज हुने उनको विश्वास छ । ‘नौबिसे–नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ, यसलाई छिट्टै सञ्चालनमा ल्याएपछि नागढुङ्गाबाट ओहोरदोहोर गर्दा हुने कष्ट अन्त्य हुने छ,’ प्रधानमन्त्री ओलीले स्ट्याटसमा उल्लेख गरेका छन् ।
नागढुङ्गा मार्ग विगत लामो समयदेखि उपत्यका प्रवेश गर्ने मुख्य नाकामध्ये एक भए पनि सडक साँघुरो र घुमाउरो भएकाले हरेक दिन लामो जाम र सवारी चापको समस्या हुँदै आएको छ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि यो समस्या समाधान हुने अपेक्षा गरिएको छ ।