
काठमाडौं, २४ मंसिर — भारतको हरियाणामा ६ वर्षीया एक बालिकाको क्रूर बलात्कार तथा हत्याका सम्बन्धमा प्रहरीले केही मानिससँग सोधपुछ गरेको छ ।
आइतवार ती बालिकाको शरीर घरनजिकै फेला परेको थियो । उनलाई शुक्रवार अपहरण गरिएको थियो ।
बालिकालाई लागेको चोटपटकले भारतीयहरूलाई स्तब्ध बनाएको छ । सन् २०१२ मा दिल्लीमा भएको क्रूर बलात्कारसँग यसको तुलना भएको छ ।
बालिकाकी आमाले आफूहरूलाई न्याय चाहिएको बताइन् ।
‘चौबीस घन्टा बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन,’ उनले भनिन् ।
प्रहरीले बालिकाका पिताका तीन नातेदारलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ तर कुनै पक्राउ गरेको छैन ।
अपराधीलाई पक्राउ गर्नका लागि अधिकारीहरूमाथि दबाब परेपछि सरकारले विशेष अनुसन्धान टोली गठन गरेको छ । स्थानीयहरू गाउँमा भेला भएर विरोध गरिरहेका छन् ।
बीबीसीबाट