०१ साउन २०८३, शुक्रबार

पूर्वराष्ट्रपति भण्डारी विराटनगरमा, के-के छन् कार्यक्रम ?​

भदौ २, २०८२
विराटनगर
पूर्वराष्ट्रपति भण्डारी विराटनगरमा, के-के छन् कार्यक्रम ?​

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विराटनगरमा राजनीतिक भेटघाटलाई तीव्रता दिएकी छिन् ।

सोमबार विराटनगर पुगेकी भण्डारीले बिग होटलमा नेकपा (एमाले)का कार्यकर्ताहरूसँग भेटघाट थालेकी हुन् । उनका भ्रमण तथा भेटघाटलाई नेकपा एमालेभित्र देखिएको सदस्यता विवाद र उनको भावी राजनीतिक कदमसँग जोडेर हेरिएको छ ।

एमाले मोरङका सचिव सोमराज थापाका अनुसार, पूर्वराष्ट्रपति भण्डारीले शिक्षक, पार्टीका प्रदेश तथा केही केन्द्रीय तहका नेताहरू र भ्रातृ संगठनका कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

विशेषगरी उर्लाबारी र दमकका एमाले नेताहरूलाई उनले भेटघाटका लागि प्राथमिकतामा राखेको बताइएको छ । यद्यपि, भेटघाटमा सहभागीहरूको सूची भने गोप्य राखिएको छ ।

भण्डारी भोलि दिउँसो १ बजे काठमाडौं फर्कने कार्यक्रम छ ।

पछिल्लो समय एमालेले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि उनको राजनीतिक भविष्यबारे विभिन्न अड्कल बाजी भइरहेका छन् ।

तर, विराटनगरमा भण्डारीले आफू अझै पनि एमालेकै कार्यकर्ता रहेको र आफ्नो सदस्यता नवीकरण भइसकेको दाबी गरेकी छिन् ।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले भनिन्, ‘मैले सदस्यता नवीकरण गरेको छु, यो अधिकार कसैले खोस्न सक्दैन ।’

निकट स्रोतहरूका अनुसार, यी भेटघाटहरू पार्टीको केन्द्रीय कमिटीको निर्णयबारे छलफल गर्ने र आफ्नो भावी रणनीति तय गर्ने उद्देश्यले आयोजना गरिएका हुन् ।

यसअघि उनी विराटनगर आउँदा मुख्यमन्त्री हिक्मत कार्कीलगायत प्रदेशका मन्त्रीहरूसँग भेटघाट गर्ने गरेका थिए । तर उनीहरूले फोटो भने सार्वजनिक गर्ने गरेका थिएनन् ।

यसपटकको बसाइमा उच्च तहका नेता वा मन्त्रीहरूसँग भेटघाटको कुनै औपचारिक कार्यक्रम नरहेको सचिव थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्