
उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी अनुसार सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर संकलन गरिरहेका छन् ।
सिंहदबारस्थित कांग्रेस र एमालेको संसदीय दलको कार्यालयमा हस्ताक्षर संकलन जारी छ ।
नेपालीलाई अमेरिका लानका लागि उपसभामुखको लेटरहेड दुरुपयोग गरेपछि विवादमा परेकी इन्दिरा रानालाई हटाउने प्रयासस्वरूप दुवै दलले आज हस्ताक्षर संकलन गरिरहेका हुन् ।
दुवै दलका कार्यालयमा सांसदहरूको हस्ताक्षर लिने क्रम जारी छ ।

एमाले सांसद सूर्य थापाले दुई/चार जनाबाहेक एमालेका सबै सांसदको हस्ताक्षर भइसकेको जानकारी दिए ।
‘एमालेबाट दुई/चार जनाको बाँकी छ, अरूका सकियो,’ थापाले भने ।
कांग्रेस सांसद सीता मिजारले पार्टीको निर्देशनअनुसार हस्ताक्षर गरेर फर्किएको जानकारी दिइन् ।
‘कांग्रेसले बेला-बेलामा यस्तो हस्ताक्षर अभियान चलाउँछ । आज पनि हस्ताक्षरका लागि दलको कार्यालयबाटै खबर आएको थियो,’ मिजारले लोकान्तरसँग भनिन्, ‘यसैले हामी हस्ताक्षर गरेर फर्किएका छौं । मभन्दा अगाडि २० हाराहारी सांसदले हस्ताक्षर गरिसकेका छन् । यो अहिले अझै बढिसक्यो ।’
कांग्रेस सांसद दुर्लभ थापाले बिरामीका लागि पुर्जी काट्ने काम भएको भन्दै अब उपचार हुने प्रतिक्रिया दिए ।
‘बिरामीका लागि पुर्जी काट्ने काम भइरहेको छ,’ उपसभामुखलाई हटाउने तयारीतिर संकेत गर्दै थापाले सञ्चारकर्मीसँग भने, ‘त्यसपछि बिरामीको उपचार हुनेछ ।’
कांग्रेसका डा. शशांक कोइराला, दिलेन्द्रप्रसाद बडु, रमेश रिजाल, दुर्लभ थापा, ईश्वरी न्यौपाने, मोहन आचार्यसहितका सांसदले हस्ताक्षर गरिसकेका छन् ।

एमालेका सांसद पनि हस्ताक्षर गर्दै फर्किरहेका छन् ।

अनधिकृत रूपमा उपसभामुखको लेटरहेड दुरुपयोग गरी युवालाई अमेरिका लान खोजेको गम्भीर आरोप लाग्दा रानालाई यसअघि नै राजीनामा दिन दबाब परेको थियो । तर, उनले त्यतिखेर राजीनामा दिइनन् ।
यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले रानालाई हटाउने प्रस्ताव कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राखेका थिए । तर, देउवा तयार भएका थिएनन् ।
यद्यपि, सोमबार भएको टेलिफोन कुराकानीमा देउवाले रानालाई हटाउने विषयमा हस्ताक्षर अभियान संकलन गर्न 'ग्रीन सिंग्नल' दिएका थिए । यसैले दुवै दलले मंगलबार बिहानबाटै हस्ताक्षर संकलन गरेका हुन् ।
पदीय आचरणविपरीत काम गरेको भदै रानालाई हटाउन कम्तीमा दुईतिहाइ मत चाहिन्छ । तर, कांग्रेस र एमालेको मात्रै आवश्यक १८३ (दुई तिहाइ) मत पुग्दैन ।
निलम्बितबाहेक कांग्रेसका ८७, एमालेका ७७, जसपाका ७ र लोसपाका ४ गरी १७५ मत मात्रै पुग्छ । यस्तोमा अझै ८ सांसद जुटाउन सके मात्रै कांग्रेस-एमालेले रानालाई हटाउने गरी दुईतिहाइ मत पुर्याउन सक्नेछन् ।
यसैले केन्द्रीय सत्ता गठबन्धनअन्तर्गत नै मधेशमा सरकार चलाइरहेको ६ सीट भएको जनमत पार्टीसहितको साथ आवश्यक पर्छ । पछिल्लो समय सत्तारुढ दलसँग दुरी बढाएका ५ सिटको जसपा नेपाल र ४ सिटको नागरिक उन्मुक्तिलाई पनि फकाउनुपर्ने बाध्यता सत्तारुढ दललाई छ ।
नभए १० सीट रहेको नेकपा एकीकृत समाजवादीलाई समेत विश्वासमा लिनुपर्ने बाध्यता कांग्रेस-एमालेलाई छ ।
थप तस्वीर :





