
सत्तारूढ दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन खोजेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असन्तुष्टि जनाएको छ ।
औपचारिक रूपमा रानामगरलाई हटाउनेबारे कुनै विषय बाहिर नआए पनि रास्वपाले अहिलेको प्राथमिकता अन्यत्रै भएको टिप्पणी गरेको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले कृषकले मल नपाउने र नागरिकले आत्महत्या गर्ने दर बढिरहँदा कांग्रेस-एमाले उल्टो बाटोमा हिँडेको टिप्पणी गरे ।
‘अहिलेसम्म औपचारिक निर्णय आएको छैन । तर, महेश बर्तौला र श्याम घिमिरेले मात्रै हस्ताक्षर गरेका छन् । उनीहरूको दलको बैठक भएर औपचारिक निर्णय आएको छैन,’ झाले लोकान्तरसँग भने, ‘यिनीहरूले जानेको नै यत्ति हो । कृषकले मल मागेका छन्, दिनको १७ जनाले आत्महत्या गर्छन् । करेन्ट लागेर दिनहुँ एक जनाको मृत्यु भएको छ । तर, यिनीहरू रिबन काट्न व्यस्त छन् ।’
देशको प्राथमिकता एकातिर हुँदा सत्तारुढ दलले उल्टो बाटो समातेको झाले आरोप लगाए ।
‘कांग्रेस-एमालेले सात बुँदे सम्झौता गरेर गठबन्धन बनाउनुभयो । हामीले पनि शंकाको लाभ दियौं । उहाँहरू जनता र देशले खोजेको काम गर्नुहुन्न । स्थायित्व दिलाउने, बजारमा लगानी भित्र्याउनेतिर उहाँहरूको चासो हुन्न,’ झाले भने, ‘तर, कुलमान हटाउने, रवि लामिछानेलाई दु:ख दिने र इन्दिरा रानालाई महाभियोग लगाउनेमा ध्यान जान्छ ।’
मंगलबार कांग्रेस र एमालेले उपसभामुखलाई हटाउन हस्ताक्षर अभियान चलाएका छन् । दुई तिहाइ मत पुर्याएर रानालाई हटाउनेबारे कांग्रेस-एमालेले सत्ता गठबन्धन दलको बैठक गरेका छन् ।
असम्बन्धित व्यक्तिलाई अमेरिका लानको लागि लेटरहेड दुरुपयोग गरेको भन्दै कांग्रेस र एमालेले रानालाई हटाउन खोजेका हुन् ।