०६ साउन २०८३, बुधबार
नेपाली क्रिकेट टोलीको अस्ट्रेलिया भ्रमण

नन्दन यादवको पाँच विकेटसँगै नेपालको पहिलो जीत, होबर्ट हरिकन्सलाई ६६ रनले हरायो

भदौ ३, २०८२
काठमाडौं
नन्दन यादवको पाँच विकेटसँगै नेपालको पहिलो जीत, होबर्ट हरिकन्सलाई ६६ रनले हरायो

अस्ट्रेलियामा जारी टप इन्ड सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले पहिलो जीत हात पारेको छ । 

नेपालले मंगलबार खेलिएको आफ्नो चौथो खेलमा होबर्ट हरिकन्स एकेडेमीलाई ६६ रनले हराएको हो । यसअघि नेपाली टोली लगातार तीन खेलमा पराजित भएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८० रन बनाएको हो । जारी शृंखलामा नेपाली टोलीले बनाएको यो नै सर्वाधिक रन पनि हो । होबर्ट हरिकन्स एकेडेमीले भने १६.१ ओभरमै अलआउट हुनुअघि एक सय १४ रनमात्र बनाउन सक्यो ।

पहिले ब्याटिङ गरेको नेपाली टोलीले पारीको गतिलो शुरूआत गरेको थियो । ओपनर ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले ४९ रनको साझेदारी गरे । कुशल भुर्तेलले २७ रन बनाए । उनले २० बलको सामना गरी चार चौका पनि हिर्काए ।

विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले पनि टोलीको खातामा २९ रन थपे । उनले २८ बलको सामना गरी दुई चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका भीम सार्कीले पनि १८ बलमा दुई चौकाको मद्दतले १८ रन बटुले ।

कप्तान रोहित पौडेल भने नौ रन बनाउँदै पेभेलियन फर्किए । पाँचौं नम्बरमा क्रिज समाल्न आएका आरिफ शेखले टोलीको खातामा ३३ रन थपे । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले २६ बलमा तीन चौका पनि हिर्काए ।

कुशल मल्ल भने ६ रनभन्दा अगाडि बढ्न सकेनन् । उनी आउट भएपछि क्रिज समाल्न आएका लोकेश बमले टोलीका लागि आक्रमक पारी खेले । उनले केवल ११ बलमा एक छक्का र तीन चौकाको मद्दतले अविजित २५ रनको योगदान गरे । करण केसी एक रन बनाउँदै आउट भए । नन्दन यादव एक रनमा नटआउट । नेपाली टोलीले अतिरिक्त रूपमा पनि ३१ रन पायो ।

होबर्ट हरिकन्स एकेडेमीका बलर निवेथन राधाकृष्णनले दुई विकेट लिए । रफ म्याकमिलनले पनि दुई विकेट हात पारे । मार्कस बिन, ब्राड्ली होप र गेब बेलले पनि एक–एक विकेट हात पारे । मार्कस बिन महँगो सावित भए । उनले चार ओभरमा ४३ रन खर्चिएका थिए ।

जवाफी ब्याटिङ गरेको होबर्ट हरिकन्स एकेडेमीलाई लक्ष्यसम्म पुग्न नदिन नन्दन यादव एक्लैले पाँच विकेट लिए । उनले आफ्नो पहिलो ओभरमा एक, दोस्रो ओभरमा दुई र तेस्रो ओभरमा दुई विकेट लिएका थिए । उनले तीन ओभरमा केवल १७ रन खर्चिए ।

null

यसका अतिरिक्त, रोहित पौडेल, रिजन ढकाल, सन्दीप लामिछाने र कुशल भुर्तेलले पनि एक–एक विकेट हात पारे । होबर्ट हरिकन्सका ब्याट्सम्यान ब्राड्ली होपले सर्वाधिक ३१ रन बनाए । उनले ३६ बलमा एक चौका हिर्काए ।

चार्ली वाकिमले पनि टोलीको खातामा २८ रन थपे । उनले २१ बलमा एक छक्का र दुई छक्का प्रहार गरे । टिम वार्डले १३ रन जोडे । ज्याक कर्टेनले पन अविजित २१ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

जारी प्रतियोगितामा नेपाली टोलीले हात पारेको यो पहिलो जीत हो । यसअघि, नेपाली टोलीले लगातार तीन खेलमा हार भोगेको थियो । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाली टोली बंगलादेशको ‘ए’ टोलीसँग ३२ रनले पराजित भएको थियो । तेस्रो खेलमा नेपाली टोली मेलबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो ।

टप इन्ड सिरिज अगस्ट २४ तारिखसम्म सञ्चालन हुनेछ । जारी शृंखलामा नेपालले आफ्नो पाँचौं खेल बुधबार रेनगेड्ससँग र छैटौं खेल २२ तारिखमा पाकिस्तान ‘ए’ टोलीसँग खेल्नेछ ।

यो शृंखला सकिएलगत्तै नेपाली टोली अस्ट्रेलियामै अर्को शृंखलामा सहभागी हुनेछ । दोस्रो शृंखलामा पनि नेपाली टोलीले कूल पाँच खेल खेल्नेछ । दोस्रो शृंखलामा नेपाली टोलीले क्रिकेट एसीटीसँग अगस्ट २६ तारिखमा पहिलो खेल खेल्नेछ ।

सोही दिन नेपाली टोलीले आफ्नो दोस्रो खेल पनि क्रिकेट एसीटीसँगै खेल्नेछ । अगस्ट २८ तारिखमा नेपाली टोलीले साउथ अस्ट्रेलियासँग तेस्रो खेल खेल्नेछ । सोही दिन नेपालले आफ्नो चौथो खेल पनि साउथ अस्ट्रेलियासँगै खेल्नेछ । नेपालले आफ्नो पाँचौं खेल ३० तारिखमा साउथ अस्ट्रेलियासँगै खेल्नेछ ।

नेपाली टोलीले यी दुवै शृंखला आगामी टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा खेल्न लागेको हो । एसिया तथा प्रशान्त क्षेत्रको अन्तिम चरणको विश्वकप छनोट प्रतियोगिता आगामी अक्टोबर ८ देखि १७ तारिखसम्म ओमानमा आयोजना हुँदैछ ।

छनोट प्रतियोगितामा नेपालसहित नौ टोली सहभागी हुनेछन् । नेपाल, जापान र कुवेत प्रतियोगिताको समूह ‘बी’मा छन् । मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) समूह ‘ए’ मा छन् । समूह ‘सी’मा भने आयोजक ओमान, पपुवा न्यू गिनी र समाओ रहेका छन् ।

अन्तिम चरणको उक्त छनोट प्रतियोगिताबाट तीनवटा टोली आगामी आईसीसी टी–२० विश्वकपमा पुग्नेछन् । आगामी टी–२० विश्वकप सन् २०२६ को फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
 

कमेन्ट गर्नुहोस्