
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले युद्धपछि आफ्नो जीवन फर्काउने र धेरै भूभाग पुनः प्राप्त गर्ने दाबी गरेका छन् ।
सोमबार ह्वाइट हाउसमै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की लगायत नेताहरूसँग सम्भावित ‘भूमि साटासाट’बारे छलफल भएको प्रश्नमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
ट्रम्पले भने, ‘युक्रेन आफ्नो जीवन फर्काउनेछ । उनीहरू धेरै भूभाग पाउनेछन् । तर यो युद्ध हो र रुस एउटा शक्तिशाली सैन्य राष्ट्र हो ।’
ट्रम्पले ह्वाइट हाउसमै विश्व नेताहरूसँग भएको वार्ता सकारात्मक भएको बताएका छन् । उनले ती नेताहरूलाई युद्ध अन्त्य चाहने असल व्यक्तिहरू भन्दै युद्ध युरोपसँग नजिक भएकाले उनीहरूको सुरक्षाबोध फरक हुने बताएका छन् ।
उनले भनेका छन्, ‘हामीसँग महासागर छ, जसले हामीलाई अलग गर्छ । तर उनीहरूका लागि यो सुरक्षासम्बन्धी फरक किसिमको विषय हो । त्यसैले उनीहरू जमिनमै सेना पठाउन तयार छन् ।’
राष्ट्रपति ट्रम्पका अनुसार अमेरिका सुरक्षा सहयोगका विभिन्न पक्षमा, जस्तै हवाई समर्थनमार्फत मद्दत गर्न तयार छ । तर, उनले युक्रेनले नाटोमा सदस्यता नै सुरक्षाको मुख्य आधार ठान्न नहुनेमा जोड दिएका छन् ।