
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउन कांग्रेस-एमालेले तयारी गरेको भन्दै आपत्ति जनाएको छ । सत्ता गठबन्धनले संसद्माथिको आक्रमण र लोकतन्त्रको तेजबोध गर्न लागेको भन्दै रास्वपाले विरोध जनाएको हो ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकको शुरूमै सभामुखसँग समय लिएर रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पटक-पटक उपसभामुखलाई खेदेको भन्दै आपत्ति जनाएका हुन् ।
‘हिजो बालुवाटार र सिंहदरबारमा जुन किसिमको प्रहसन भएको छ, संसद्को गरिमामाथिको आक्रमण र लोकतन्त्रको अवमूल्यन गरेका छन् । सदनको तेजबोध गर्ने र उपसभामुखलाई सधैं लखेट्ने काम बन्द गरियोस्’, परियारले भने ।
निहित स्वार्थका लागि लोकतन्त्रमाथि आक्रमण गर्ने काम बन्द गर्न उनले आग्रह गरे । ‘तपाईंहरू नयाँलाई निषेध गर्न खोज्नु भएको छ । कमजोर बनाउन सकिएला, नयाँलाई निषेध गर्न सकिँदैन’, उनले भने ।
अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएकी रानालाई आफूहरूले उपसभामुख बनाएको परियारले बताए ।
राप्रपाकी रोशन कार्कीले उपसभामुख हटाउन कांग्रेस-एमालेले हस्ताक्षर गरेको भन्दै आपत्ति जनाइन् ।