
काठमाडौं, २६ मंसिर – देशभरबाट प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा केही ठूला नेताहरु पाराजित भएका छन् ।
पराजित हुनेमा अधिकांश नेता नेपाली कांग्रेसका छन् । देशभरबाट कांग्रेसले चुनाव हारेको छ । दोस्रो संविधानसभामा पहिलो दल रहेको कांग्रेसले आफ्नो विरासतलाई थाम्न सकेन । कांग्रेसले चुनाव हार्दै गर्दा सो पाटीका केही हाइप्रोफाइल नेताहरूले समेत चुनाव हारेका छन् ।
केही ठूला नेताहरुलाई सामान्य नेताहरूले नै हराएका छन् भने केही ठाउँमा चाहिँ पपुलर नेताहरूकै बीचमा प्रतिस्पर्धा रहेको थियो । हालसम्मको राजनीतिक करियरमा हाइप्रोफाइलका रुपमा रहेका नेताहरुलाई हराउने प्रतिस्पर्धीहरुलाई ‘म्यान अफ दि इलेक्सन’का रुपमा विश्लेषण गर्न सकिन्छ ।
किसान श्रेष्ठ
श्रेष्ठले तनहुँ क्षेत्र नम्बर एकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका छन् । कांग्रेस भित्र प्रधानमन्त्रीको उम्मेदवारका रुपमा समेत विश्लेषण गरिएका पौडेले सांसदकै चुनाव हारेका छन् ।
श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याएर चुनाव जितेका छन् भने पौडेलले २७ हजार ६ सय ९० मत ल्याएका छन् ।
सञ्जय गौतम
नेपाली कांग्रेसका गौतमले बर्दिया क्षेत्र नम्बर एकमा नेकपा एमालेका नेता बामदेव गौतमलाई झिनो मतअन्तरले हराएका छन् । वाम गठबन्धनका सुत्रधारका रुपमा हेरिएका गौतमले सांसदको चुनाव हारेका छन् ।
सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याएर चुनाव जिते भने वामदेवले ४४ हजार ७६ मत ल्याउँदै चुनाव हारेका छन् ।
राजेन्द्र लिङदेन
झापा तीनमा राप्रपाका नेता राजेन्द्र लिङदेनले कांग्रेस नेता कृष्ण सिटौलालाई ठूलो मतअन्तरले हराएका छन् । कांग्रेसभित्र तेस्रो धार विकास गर्न खोजिरहेका सिटौलाले झापामा चुनाव हारेका हुन् । लिङदेनले ४४ हजार ६ सय १४ मत ल्याएका छन् भने कांग्रेस नेता सिटौलाले ३१ हजार एक सय ७१ म्त ल्याएका छन् ।
शेरबहादुर तामाङ
एमाले नेता शेरबहादुर तामाङले राप्रपा प्रजातान्त्रिकका नेता पशुपति शमशेर राणालाई सिन्धुपाल्चोक दुईबाट चुनाव हराएका छन् । तामाङले
३८ हजार ४ सय १ मत ल्याउँदा राणाले ३० हजार ३ सय ६९ मत मात्रै ल्याए ।
कृष्ण दाहाल
मकवानपुरमा एमाले नेता कृष्ण दाहालले राप्रपाका नेता कमल थापालाई चुनाव हराएका छन् । उनले ४० हजार ६ सय ३१ मत ल्याएर चुनाव जितेका छन् भने थापाले ३४ हजार ६ सय ५८ मत मात्रै ल्याए ।
हितबहादुर तामाङ
माओवादी नेता हितबहादुर दामाङले नुवाकोट एकमा कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतलाई चुनाव हराएका छन् । उनले ३६ हजार ४ सय ७३ मत ल्याएर महतलाई हराएका हुन् । महतले २७ हजार ९ सय २० मत ल्याए ।
नारायण खतिवडा
एमाले नेता नारायण खतिवडाले नुवाकोट २ मा कांग्रेस नेता अर्जुननरसिंह केसीलाई चुनाव हराएका छन् । उनले ३६ हजार ८ सय ९२ मत ल्याएका छन् भने केसीले २६ हजार ३ सय ३५ मत ल्याएर पराजित भए ।
नारदमुनी राना
कैलाली क्षेत्र नम्बर पाँचमा नारदमुनी रानाले कांगेस नेतृ आरजु राणालाई चुनाव हराएका छन् । रानाले २७ हजार २ सय २ मत ल्याएका छन् भने राणाले २२ हजार ३ सय २२ मत ल्याएर चुनाव हारेकी छन् ।
राजेन्द्र महतो
राजपाका नेता राजेन्द्र महतोले कांग्रेस नेता विमलेन्द्र निधिलाई चुनाव हराएका छन् । महतोले ३० हजार ७ सय ५० मत ल्याएका छन् भने निधिले २७ हजार ८ सय ४७ मत ल्याए ।
बाबुराम भट्टराई
नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर दुईमा माओवादी नेता नारायणकाजी श्रेष्ठलाई चुनाव हराएका छन् । भट्टराईले ३१ हजार ८ सय ७ मत ल्याएर चुनाव जिते भने श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याए ।
प्रकाशमान सिंह
कांग्रेस नेता प्रकाशमान सिंह सेलिब्रेटी उम्मेदवार रवीन्द्र मिश्रलाई चुनाव हराएका छन् । देशभरबाट कांग्रेसले चुनाव हार्दै गर्दा सिंहले कांग्रेसको पहिलो विजयको रुपमा चुनाव जिते । सिंहले १० हजार ९ सय ३६ मत ल्याएका छन् भने मिश्रले १० हजार एक सय १८ मत ल्याए ।
अमनलाल मोदी
नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले नेपाली कांग्रेसका नेता महेश आचार्यलाई मोरङ क्षेत्र नम्बर ४ मा चुनाव हराएका छन् । मोदीले ३३ हजार ५ सय २९ मत ल्याउँदा कांग्रेस नतो आचार्यले २६ हजार ८ सय मत ल्याएका छन् ।
लालबाबु पण्डित
एमाले नेता लालबाबु पण्डितले कांग्रेस नेता शेखर कोइरालालाई चुनाव हराएका छन् । कोइरालाले ३३ हजार २ सय ६६ मत ल्याएका छन् भने एमाले नेता पण्डितले ३३ हजार ९ सय ४१ मत पाएका छन् ।