०५ साउन २०८३, मंगलबार

डा. विनोद निता कँडेल आँखा अस्पतालमा एक वर्षमै ५३ हजारभन्दा बढीको आँखा जाँच

भदौ ५, २०८२
बुटवल
डा. विनोद निता कँडेल आँखा अस्पतालमा एक वर्षमै ५३ हजारभन्दा बढीको आँखा जाँच

पश्चिम नवलपरासीको परासीस्थित नेपाल नेत्रज्योति संघअन्तर्गत रहेको डा. विनोद निता कँडेल आँखा अस्पतालले एक वर्षमै ५३ हजारभन्दा बढीको आँखा जाँच गरेको छ । अस्पतालका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा नियमित ओपीडी सेवा, विभिन्न उपकेन्द्र, विद्यार्थी आँखा जाँच कार्यक्रम र शिविरमार्फत् ५३ हजार २८ जनाको आँखाको परीक्षण गरिएको हो ।

अस्पतालका व्यवस्थापन अजय पाण्डेका अनुसार उपचार गरेकामध्ये १२ हजार ९४९ भारतीय नागरिकले ओपीडी सेवा लिएका हुन् । भारतका विभिन्न ठाउँबाट यहाँ आँखाको शल्यक्रिया गराउन यस अस्पताल आउने गरेका छन् ।

यस अस्पतालमा सेवा सुल्क सस्तो तथा कतिपय अवस्थामा नि:शुल्क पनि उपचार हुने भएकाले भारतीय नागरिकको लर्को लाग्ने गरेको पाण्डेले बताए । वि.स.२०४५ सालमा स्थापना भएको यो आँखा अस्पतालले गुणस्तर पक्षलाई ध्यान दिएको उनी दाबी गर्छन् । गत वर्ष पनि अस्पतालमा ३७ हजार ६ सय ३२ जना सेवाग्राहीले ओपीडीबाट सेवा लिएका थिए ।

यसबाहेक अस्पतालअन्तर्गत सञ्चालित चार वटा उपकेन्द्रहरू सुनवल, सरावल, प्रतापपुर र सुस्तामार्फत् २ हजार ६२९ जनाले सेवा लिएका छन् । यस्तै, विभिन्न स्थानमा सञ्चालित नि:शुल्क शिविरहरूबाट ५ हजार ५८८ जनाको आँखाको परीक्षण गरिनुका साथै १ हजार ४०० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

विद्यालयकेन्द्रित विद्यार्थी आँखा जाँच कार्यक्रमअन्तर्गत ७ हजार ३४६ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ भने परीक्षणपछि ३७० जना विद्यार्थीलाई नि:शुल्क चस्मा वितरण गरिएको छ ।

अस्पतालमार्फत् १ हजार ४८९ जनाको मेजर शल्यक्रिया र ६७ जनाको माइनर शल्यक्रिया गरिएको अस्पतालले जानकारी दिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्