०६ असार २०८३, शनिबार

पहिरोले अवरुद्ध अरनिको राजमार्ग अझै खुलेन

भदौ ५, २०८२
सिन्धुपाल्चोक
पहिरोले अवरुद्ध अरनिको राजमार्ग अझै खुलेन

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेको छैन ।    

बर्खा लागेयता पटकपटक पहिरो पन्छाएर राजमार्गमा यातायात सञ्चालन हुँदै आएको थियो । उक्त दिनको पानीले राजमार्गभन्दा माथि रहेको बस्ती नै जोखिममा पर्ने भएपछि हाल राजमार्ग पूर्ण रूपमा बन्द भएको हो ।

सडक नखुल्दा दसैँ र तिहार लक्षित सामग्री संघीय राजधानी काठमाडौं ल्याउन पाइएको छैन । सडक बन्द भएपछि करिब एक हजार ७०० कन्टेनर तातोपानी क्षेत्र चिनियाँ भू–भागमा रोकिँदा व्यापारी समस्यामा परेका छन् । 

तातोपानी भन्सारका कार्यालय प्रमुख राजेन्द्रप्रसाद चुडालले बाटो खुलाउने प्रयास भइरहे पनि अवस्था निकै नाजुक भएकाले बाटो दसैँअघि खुल्छ भन्न सकिने अवस्था नरहेको जानकारी दिए । उनकाअनुसार अहिले तातोपानी क्षेत्रमा मात्रै करिब एक हजार सामान लोड गरेका कन्टेनर छन् ।

हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले तातोपानीमा एक हजारभन्दा बढी कन्टेनर रोकिएको बताए । उनी भन्छन्, ‘दसैँ तिहारलाई आयात गरेको सामान दसैँपछि आएर कुनै फाइदा छैन । तातोपानी नाकाको जम्मा ३० मिटर पहिरो हो जसरी पनि हटाएर राजमार्ग खुलाउनुपर्छ ।’

चीनबाट विशेषगरी विद्युतीय सवारीसाधन, इलेक्ट्रोनिक वस्तु र लत्ताकपडाजस्ता वस्तु आयात हुने गरेको छ । चीनबाट आउने वस्तु विशेषगरी दसैँ तिहारलाई आवश्यक पर्ने वस्तु हुन् । 

दसैँ तिहारदेखि चिसोलाई आवश्यक पर्ने लत्ताकपडा खरिद गर्न अहिले धेरै व्यापारी चीन पुगेका छन् । तर, छिटो र सस्तोमा सामान आयात हुने उत्तरी नाका बाढीपहिरोका कारण एक महिनादेखि बन्द भएपछि व्यापारी चिन्तित बनेका छन् ।     

salt training

कमेन्ट गर्नुहोस्