
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई निलम्बन गरेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेपछि रास्वपाको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी दिएका छन् ।
‘नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न भनि रुपन्देही जिल्ला प्रहरी कार्यालयबाट पक्राउ गरिएको सूचना प्राप्त भएको हुँदा सो विषयमा प्रहरीको आवश्यक छानबिन र अनुसन्धानका क्रममा सहजता पुर्याउने उद्देश्यका साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुन सक्ने गरी हाल तपाईंलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउदछौं,’ रास्वपाको सूचनामा भनिएको छ ।
चितवनको कालिका नगरपालिका–५ पदमपुरका कँडेललाई नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको आरोपमा रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।