
सुक्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा खसेको पहिरो हटाएर सडक खोलिएको हो ।
यसअघि आजै बिहान ६:३५ बजे चट्टानसहितको सुक्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको थियो ।
ढुंगा खस्ने क्रम कायमै रहेकाले सावधानी पूर्वक यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ ।
यसैगरी, हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक पनि अवरुद्ध छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्याङडाँडामा वर्षासँगै माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको र छिट्टै सडक सञ्चालनमा आउने प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।
यता, हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको त्रिभुवन राजपथ भने सडक सञ्चालनमा आएको छ । त्रिभुवन राजपथ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–१ बागझुरामा गिट्टी बालुवासहितको भलपानी खस्दा गए रातिदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।