
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारविरुद्ध निर्माण गरिएको गलत भाष्य चिनुपर्ने बताएका छन् । मुख्यमन्त्री भएपछि आज पहिलोपटक सिन्धुपाल्चोकको मेलम्ची पुगेका बानियाँले गणतन्त्रपछि स्थापित विकासको बाहक प्रदेश सरकारविरुद्ध विशेषगरी सामाजिक सञ्जालबाट गलत भाष्य निर्माण गर्न खोजिएको धारणा राखे ।
“गणतन्त्र स्थापना भएपछि गाउँगाउँमा सडक, पुल, शिक्षा, स्वाथ्य, सञ्चार सुविधा पुगेको छ । यो कुरा यो व्यवस्था विरोधीहरूलाई मन परेको छैन । त्यसैले फेसबुक, ट्वीटर, युट्यूवजस्ता सामाजिक सञ्जालबाट बदनाम गराउने प्रयास भइरहेको छ”, उनले भने ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले आज यहाँ बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा मुख्यमन्त्री बानियाँ, स्वास्थ्यमन्त्री किरण थापा, आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङलाई सम्मान गरिएको थियो ।