
काठमाडौंमा विद्यालयस्तरीय पाँच दिने दोस्रो राष्ट्रिय नाटक महोत्सव गरिएको छ । अक्षरा स्कूलको आयोजना र लालाबालाको सहकार्यमा काठमाडौंको पिङ्गलास्थानस्थित ‘स्टुडियो थिएटर’मा उक्त महोत्सव भएको हो ।
महोत्सव शुक्रबार ‘भिरमा फुलेका फूल’, ‘पिता…??’, ‘यशस्वी भवः’ र ‘समीर नाचेको दिन’ नाटक प्रस्तुत गर्दै सम्पन्न भएको अक्षरा स्कूलले जनाएको छ ।
समापन कार्यक्रममा अक्षराकी संस्थापक निर्देशक अन्जु भट्टराईले सहभागी विद्यालयका विद्यार्थीलाई प्रमाणपत्र वितरण गरेकी थिइन् । उनले यसरी भव्य रूपमा नाटक महोत्सव गर्न पाएकामा खुसी व्यक्त गरिन् ।
उनले साहित्य, सङ्गीत, कला र संस्कृति मानव जीवनका अभिन्न अङ्ग भएकाले विद्यालय तहकै नानीबाबुहरूलाई अभिनयात्मक कला सिकाउनु अपरिहार्य भएकाले राष्ट्रिय नाटक महोत्सव आयोजना गरेको बताइन् ।
‘साहित्य समाजको दर्पण हो, जसमा बालबालिकाले सामाजिक मूल्यमान्यता, संस्कार, संस्कृतिलगायत जीवनका सम्पूर्ण पक्षको अध्ययन गर्न पाउँछन्,’ उनले भनिन्, ‘अझ नाटकजस्तो संवादात्मक र अभिनयात्मक प्रस्तुतिले उनीहरूलाई सिकाइमा सहजीकरण गर्ने भएकाले अभिनयलाई कक्षाकोठाभित्रै सिकाउन आवश्यक छ ।’

महोत्सवमा ‘थिएटर इन एजुकेसन कार्यक्रम’अन्तर्गत नाट्य विधा अध्ययन गराउने देशभरका गरी विभिन्न १७ वटा स्कूलका १७ वटा नाटक मञ्चन भए ।
समापन कार्यक्रममा चलचित्र निर्देशक प्रदीप भट्टराईलगायत विभिन्न क्षेत्रका कलाकारहरूको उपस्थिति रहेको थियो । यसअघि भएको नाटक महोत्सवको पहिलो संस्करण लालाबालाले आयोजना गरेको महोत्सव निर्देशक टंक चौलागाईंले बताए ।