०२ असार २०८३, मंगलबार

सुकुना क्याम्पसको स्ववियु कार्यालयमा स्ववियु सदस्यहरूले नै लगाए ताला

भदौ ८, २०८२
विराटनगर
सुकुना क्याम्पसको स्ववियु कार्यालयमा स्ववियु सदस्यहरूले नै लगाए ताला

मोरङको सुकुना बहुमुखी क्याम्पसस्थित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को कार्यालयमा ताला लगाइएको छ । स्ववियु सभापति एलिस ओझाले आर्थिक दुरुपयोग गरेको भन्दै समितिका बहुमत सदस्यहरूले स्ववियुको कार्यालयमा ताला लगाएका हुन् ।

स्ववियु सचिव रोशन क्षेत्री, कोषाध्यक्ष सरिना थापा, सहायक सचिव होमबहादुर पौडेललगायत बहुमत सदस्यहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सभापतिको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन् ।

सभापति ओझाले अनेरास्ववियुको २४औं महाधिवेशनका लागि भन्दै स्ववियु कोषबाट २० हजार रुपैयाँ रकम समितिको कुनै आधिकारिक बैठक, छलफल वा सामूहिक सहमतिविना नै निकालेको आरोप उनीहरूले लगाएका छन् । ‘स्ववियुको नक्कली लेटरप्याट प्रयोग गरेर ५ लाखसम्म दुरुपयोग गरेको पाएका छौं,' स्ववियुका एक सदस्यले भने, ‘हामीले छानबिनका लागि २४ घण्टाको समय दिएका छौं ।’

विद्यार्थीको हकहित र समस्या समाधानका लागि जम्मा गरिएको कोषलाई व्यक्तिगत स्वार्थमा प्रयोग गरिएको भन्दै उनीहरूले पाँच बुँदे माग अघि सार्दै सभापति र क्याम्पस प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।

उनीहरूले सभापतिलाई रकमको सम्पूर्ण विवरण तत्काल सार्वजनिक गर्न, एकल निर्णय गर्नुको स्पष्टीकरण दिन र भविष्यमा यस्ता गतिविधि नदोहोर्‍याउन चेतावनी दिएका छन् ।

त्यसैगरी, क्याम्पस प्रशासनलाई पनि स्ववियु अध्यक्षलाई कुन प्रयोजनका लागि रकम दिइएको हो त्यसको जवाफ २४ घण्टाभित्र लिखित रूपमा पेस गर्न उनीहरूले आग्रह गरेका छन् ।

बहुमत सदस्यहरूले यो विषयमा ढाकछोप नगरी छानबिन प्रक्रिया अगाडि नबढाए चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्