
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी मन्त्री फेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गरेको छ । जसपाले गत वैशाखदेखि हालसम्म मन्त्री फेरबदलका लागि ५ पटक पत्राचार गरिसकेको छ । शनिबार बसेको पार्टीको बैठकमा पुन: मन्त्री फेरबदलको विषय उठेपछि फेरि पत्राचार गरिएको हो ।
जसपाबाट अहिले खानेपानी मन्त्री प्रदीप यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी छन् ।
जसपाका एक सांसदका अनुसार, यादवको ठाउँमा सांसद वीरेन्द्र महतो र सुडीका ठाउँमा सांसद रञ्जु झालाई मन्त्री बनाउने निर्णय भएको पत्र गत वैशाखदेखि हालसम्म पाँच पटक पठाइसकिएको छ ।
‘उहाँहरू दुई जनालाई मन्त्री बनाउँदा नै १ वर्षका लागि मात्र बनाइएको थियो । वैशाखमै पार्टीको कार्यकारिणी समितिको बैठकबाट दुई मन्त्रीलाई फिर्ता बोलाएर झा र महतोलाई पठाउने निर्णय भएको थियो,’ ती सांसदले लोकान्तरसँग भने, 'त्यस बेलादेखि अहिलेसम्म कुल पाँच पटक मन्त्री फेर्नका लागि प्रधानमन्त्रीज्यूलाई पत्र पठाइसकिएको छ ।’
पाँच पटकसम्म पत्र पठाउँदा पनि अब अध्यक्ष अशोक राईले अब नभन्ने प्रतिक्रिया दिएका छन् । ‘अब पाँच पटकसम्म पत्र पठाइसकेको छु । अब पत्र पठाउँदिन भनेर गुनासो समेत हिजो व्यक्त गर्नुभयो,’ ती सांसदले अध्यक्ष राईको भनाइ उद्धृत गर्दै लोकान्तरसँग भने, ‘नेपाली कांग्रेस, नेकपा एमालेसहित अन्य साना दलको पनि सबै मन्त्री एकै पटक फेर्ने भनेर प्रधानमन्त्रीज्यूले भन्दै आउनुभएको छ । कांग्रेस मन्त्री फेर्न तयार नहुँदा ढिलो भएको हो ।’