११ साउन २०८३, सोमबार

उपसभामुख राना जोडिएको बालबालिका अवैध ओसारपसार घटनामा अघि बढ्यो प्रहरी अनुसन्धान

भदौ ८, २०८२
काठमाडौं
उपसभामुख राना जोडिएको बालबालिका अवैध ओसारपसार घटनामा अघि बढ्यो प्रहरी अनुसन्धान
फाइल फोटो

उपसभामुख इन्दिरा राना मगर जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी घटनाको अनुसन्धान शुरू भएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

राना कार्यकारी प्रमुखको जिम्मेवारीमा रहँदा प्रिजनर्स असिस्टेन्ट (पीए) नेपाल नामक गैरसरकारी संस्थाबाट अवैधरुपमा बालबालिका ओसारपसार भएको सरकारी प्रतिवेदनले नै औंल्याएको थियो । तर, रानामाथि कुनै कानूनी ‘एक्सन’ अगाडि बढेको थिएन ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुबेर खापुङका अनुसार, सार्वजनिक सरोकारको विषय र उपसभामुखको नाम जोडिएकाले अनुसन्धान गर्न ब्यूरोलाई निर्देशन दिइएको हो । ‘उपसभामूखज्यू जोडिएको बालबालिकाको अवैध ओसारपसारको विषयमा के कति सत्यता हो वा होइन भनेर अनुसन्धान शुरू गरिएको हो,’ एआईजी खापुङले लोकान्तरसँग भने, ‘अनुसन्धान गर्ने आधिकारिक निकाय प्रहरी नै भएकाले मैले मानव बेचबिखन ब्यूरोलाई निर्देशन दिएको हो ।’

यही भदौ ५ गते बसेको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद तथा पार्टीका केन्द्रीय सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा उपसभामुख राना सम्बद्ध संस्था पीए नेपालको संलग्नता रहेको दाबी गरेका थिए ।

भट्टराईको उक्त दाबीलाई पुष्टि गर्दै पत्रकार सुमन ढुंगानाले एक सञ्चारमाध्यममा त्यो घटना र समाचार संकलनका क्रममा आफूले जागिरबाट हात धुनुपरेको कुराको अभिव्यक्त गरेका थिए ।

उनले उपसभामुख राना जोडिएको बालबालिकाको अवैध ओसारपसारको समाचार संकलन गर्दा आफू कार्यरत टेलिभिजनबाट जागिर खोसिएको र सोसम्बन्धी रिपोर्ट लुकाइएको विषय उल्लेख गरेका छन् । मानव बेचबिखन ब्यूरोले अनुसन्धानका लागि पत्रकार ढुंगानाको समेत सहयोग लिने तयारी गरेको छ ।

ढुंगानाको दाबीअनुसार, २०७२ साल कात्तिक १७ गते सिफलस्थित बाल संगठनको बालगृहबाट पाँच बालबालिका हराएका थिए । २०७२ माघ १८ गते बालगृहका एक कर्मचारीले बाल कल्याण समितिमा दिएको बयानमा पीए नेपालसँग सम्बन्धित व्यक्तिहरूले ती बालबालिकालाई जबर्जस्ती लिएर गएको बयान दिएका थिए । उक्त संस्थाको कार्यकारी निर्देशक राना थिइन् ।

त्यतिबेला सरकारले उच्च अदालतका न्यायाधीशको अध्यक्षतामा एक जाँचबुझ आयोग गठन भएको थियो ।

उक्त आयोगले पीए नेपाल र त्यसकी कार्यकारी निर्देशक रानाको संलग्नता पुष्टि गर्दै प्रतिवेदन पेस गरेको थियो ।​

मानव बेचबिखन ब्यूरोका एक अधिकृतका अनुसार, सीआईबीबाट यो घटनाको अनुसन्धान गर्न निर्देशन आएको हो । ति अधिकृतले भने, ‘बाहिर आएका कुरा र सत्यता के रहेछ भनेर अनुसन्धान गर्न भनिएको छ, हामी अब पुराना प्रतिवेदनको अध्ययनसँगै पत्रकार ढुंगानासँग समेत यो विषयमा सहयोग माग्छौं ।’

salt training

कमेन्ट गर्नुहोस्