२६ जेठ २०८३, मंगलबार
ठगीको नयाँ तरिका

अस्ट्रेलिया–क्यानडाबाट पठाएको पैसा स्क्यामरको खल्तीमा, खातामा ठगीको रकम आएपछि तनाव

भदौ ९, २०८२
काठमाडौं
अस्ट्रेलिया–क्यानडाबाट पठाएको पैसा स्क्यामरको खल्तीमा, खातामा ठगीको रकम आएपछि तनाव

पछिल्ला दिनमा अस्ट्रेलिया, क्यानडा र कम्बोडिया लगायत देशमा काम गर्ने नेपालीले पठाएको रकम हुन्डीको च्यानलमा लगेर स्क्यामरले दुरूपयोग गर्ने गरेको पाइएको छ ।

उताबाट मनी ट्रान्सफरमार्फत पठाएको रकम समेत त्यहाँका कर्मचारीहरूसँगको मिलेमतोमा उतै रोकेर नेपालमा अनलाइन स्क्याम (ठगी)को रकम सम्बन्धित व्यक्तिको खातामा पठाउने गरेको खुलेको हो ।

हेटौंडाकी स्मिता कार्कीले (नाम परिवर्तन) विगत तीन वर्षदेखि अस्ट्रेलियाको मेलबर्नमा काम गर्दै आएकी छिन् । उनले त्यहाँको युनाइटेड रेमिटमा दुई लाख रुपैयाँ बराबरको रकम डलरमा कर्न्भट गरेर जम्मा गरिन् ।

नेपालमा रहेको बैंक खातामा रकम जम्मा भएको पनि देखियो । उनी ढुक्क भइन् । तर, युनाइटेड रेमिटका कर्मचारीले उक्त रकम झिकिसकेका थिए । अनि नेपालमा रहेका स्क्यामरलाई कार्कीले जम्मा गरेको बराबरको रकम उनको खातामा अरू नै नेपाली खातामार्फत जम्मा गर्न लगाए ।

तीन/चारवटा बैंक खाताको तह पार गरेर कार्कीको खातामा दुई लाख जम्मा भयो ।

ती स्क्यामरले कसैलाई समान पठाइदिने नाममा, कसैलाई अनलाइन जब दिने नाममा त कसैलाई विदेश पठाइदिने नाममा ठगी गरेको रकम नै कार्कीको खातामा पठाइदिएका थिए ।

पीडितहरू आफू ठगिएको भन्दै टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगे ।

प्रहरीले अनुसन्धान गर्दैजाँदा पीडितहरूले पठाएको रकम कार्कीको खातामा जम्मा भएको देखियो । अनि प्रहरीले कार्कीको खाता बन्द गर्न बैंकलाई पत्राचार गर्‍यो । खाता बन्द भयो ।

कार्की जस्ता दर्जनौं पीडितहरू अहिले यस्तै समस्या लिएर अनुसन्धान कार्यालयमा पुगिरहेका छन् । अस्ट्रेलिया, क्यानडा र कम्बोडियामा रहेका तीन सय बढी नेपाली कामदारको नेपालमा रहेका बैंक खाता बन्द गराउन बैंकलाई पत्राचार गरिसकेको प्रहरीले जनाएको छ ।

अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले अस्ट्रेलिया, कम्बोडिया लगायत देशमा रहेका नेपाली कामदारलाई रेमिट्यान्समार्फत पैसा पठाएको छु भनेर ढुक्क नहुन आग्रह गरे ।

‘रेमिट्यान्समार्फत पैसा पठाएपछि त्यो रकम रेमिट्यान्सकै कर्मचारीले झिकेर नेपालमा हुन्डीमार्फत पठाउने र नेपालमा रहेका स्क्यामरले सर्वसाधारणबाट ठगी गरेको गरेको पैसा बैंक खातामा जम्मा गरिदिने गरेको भेटियो,’ आचार्यले लोकान्तरसँग भने, ‘पैसा पठाएको पनि देखिन्छ, जम्मा भएको पनि देखिन्छ, तर रेमिट्यान्सका कर्मचारी र स्क्यामरको फन्दामा परेको थाहा हुँदैन । बैंक खाता बन्द भएपछि पीडित झन् पीडित हुँदै आएका घटना प्रशस्त छन् ।’

अनुसन्धान कार्यालयमा गत आर्थिक वर्षमा मात्रै स्क्यामरले नेपालीको ४५ करोड रुपैयाँ स्क्याम गरेको उजुरी परेको थियो । तर, प्रहरीले ८ करोड रुपैयाँ मात्रै पीडितलाई भराएको देखिन्छ ।

एसपी आचार्यका अनुसार अस्ट्रेलियामा रहेका नेपाली कामदारले रेमिट्यान्सका नाममा खोलिएका फेक एप डाउनलोड गरेर रकम ट्रान्सफर गर्दा अहिले यो समस्या आएको हो ।

‘फेक एपबाट रकम पठाउनु हुँदैन, स्क्यामरले त्यसको फाइदा उठाएर रकम ट्रान्सफर गरिदिन्छन्,’ आचार्यले सर्वसाधारणलाई सावधान हुन आग्रह गर्दै लोकान्तरसँग भने, ‘दु:ख गरेर विदेशबाट पैसा पठायो, त्यो पैसा स्क्यामरले हुन्डीमा कर्न्भट गरेर स्क्यामिङ गरेको रकम नै तीन/चारवटा खातामा घुमाएर जम्मा गरिदिन्छन् ।’

प्रहरी अनुसन्धान र उजुरीअनुसार अस्ट्रेलिया, क्यानडा र कम्बोडियामा रहेका कामदारका करोडौं रुपैयाँ स्क्यामिङ भएका छन् । अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतका अनुसार भारतीय स्क्यामरले नेपालमा बैंक खाता खोल्ने र एटीएम लिएर भारत गएपछि दिल्लीबाट भटाभट रकम निकाल्दै गर्दै आएका छन् । मुख्य नाइके भारतमा हुँदा पक्राउ गर्न सजिलो छैन ।

‘अननोन खाताबाट ट्रान्सफर भएर आफ्नो बैंक खातामा आउनेबित्तिकै प्रहरीलाई खबर गर्नुपर्छ,’ एसपी आचार्यले भने, ‘त्यो पैसा कहाँबाट आएको हो, किन आयो भन्ने नबुझिकनै चलाइयो वा अपरिचित व्यक्तिले फोनमार्फत दिएको कमान्ड मानियो भने तपाईं स्क्यामरको फन्दामा परेँ भन्ने कुरा बुझ्नुपर्छ ।’

स्क्यामरले हालसम्म ६ जना व्यक्तिका बैंक खातामा रकम ट्रान्सफर गरेर ठगी गरेको प्रमाण अनुसन्धान कार्यालयले फेला पारेको छ । अचम्मको कुरा त स्क्यामरले ठगी गर्न २६ वटा क्यूआरसम्म प्रयोग गरेका छन् ।

अनुसन्धान कार्यालयले हालसम्म स्क्यामरले प्रयोग गरेका १० हजार बढी खाता बन्द गर्न विभिन्न बैंकलाई पत्राचार गरिसकेको छ ।

प्रहरीको पत्राचारपछि बैंकहरूले ती खाता बन्द गरेका छन् ।

खासगरी बैंक तथा वित्तीय संस्थाले भटाभट खाता खोल्न दिँदा, ती खातामार्फत के कसरी कारोबार भइरहेका छ, त्यो विषयमा नियमन नगर्दा स्क्यामरले फाइदा उठाउँदै आएको प्रहरीको बुझाइ छ ।

साइबर ब्यूरोमा गत आर्थिक वर्षमा मात्रै स्क्यामिङमार्फत दुई अर्ब रुपैयाँ ठगी भएको उजुरी परेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्