
रामेछापको मन्थली नगरपालिका–१ का पूर्वशिक्षक श्याम सुवेदी तथा उनको परिवारले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययन गर्ने विपन्न छात्रालाई नगद तथा विद्यालय सामग्री हस्तान्तरण गरेको छ । मन्थलीमा एक कार्यक्रम गरेर नगद तथा सामग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको हो ।
सुवेदी परिवारलेले आफ्नो व्यक्तिगत लगानीमा जिल्लाका ६ वटा शैक्षिक संस्थाका ८३ जना छात्रालाई १० लाख बराबरको नगद तथा १ वर्षलाई पुग्ने कापी, कलम, झोला, ट्रयाकसुट हस्तान्तण गरेका हुन् ।
जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रमअन्तर्गतको कार्यक्रममा जिल्लाको मन्थली मावि मन्थलीका ३५ जना, भैरवी मावि सुनारपानी, सेती देवी मावि सालु र शिद्धेश्वर मावि गैराथोक का १०/१० जना, मन्थली शहीद स्मृति बहुमुखी क्याम्पस मन्थलीका ६ जना, तामाकोशी क्याम्पस खिम्तीका १२ जना गरी कुल ८३ जनालाई नगदसहित विद्यालय सामग्री हस्तान्तरण गरिएको हो । विद्यार्थीहरूलाई १० हजारदेखि अधिकतम् १८ हजारसम्म नगदसमेत दिइएको सुवेदीले बताए ।
मन्थली नगरपालिका–१३ मा रहेको हर्रे चिण्डे मावि फुलासी, वडा नं –६ मा रहेका सिद्धेश्वर आवि हात्तिटार र वडा नं –२ मा रहेका कालिका आ.वि टेकनपुरका छात्राहरुलाई पनि विद्यालय पोशाक दिने योजना रहेको सुवेदीले बताए ।
समाजमा छोरीलाई अगाडि बढाउनु पर्छ भन्ने मान्यतालाई आफूले आत्मसाथ गर्दै विगत १० वर्षअघिदेखि विभिन्न विद्यालयका छात्रालाई यो कार्यक्रममा सहभागी गराउने गरिएको उनले बताए ।