२५ असार २०८३, बिहीबार

भियतनाममा टाइफुन काजिकीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्यो

भदौ १०, २०८२
काठमाडौं
भियतनाममा टाइफुन काजिकीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्यो

भियतनाममा टाइफुन काजिकीका कारण मङ्गलबारसम्म मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

उखेलिएका रूख र बिजुलीका तारले अराजकता ल्याउँदा उद्धारकर्मीको ज्यान गएको छ । राजधानी हनोईसहित धेरै क्षेत्रमा भीषण बाढी र आँधीले दैनिक जीवन अस्तव्यस्त बनाएको छ ।

सोमबार मध्य भियतनाममा आएको आँधीले १३० किमी प्रतिघण्टा (८० माइल प्रतिघण्टा)को वेगमा चलेको हावाले हजारौं घरका छत उडाएको छ भने र १६ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका छन् ।

मङ्गलबारसम्म तीन जनाको मृत्यु र १३ जना घाइते भएको पुष्टि भएको छ । अधिकारीहरूले आठ प्रान्तमा आकस्मिक बाढी र भूस्खलनको चेतावनी जारी गरेका छन् ।

भिन्हमा सैनिक र उद्धारकर्मीहरूले काट्ने उपकरण प्रयोग गरी सडक अवरुद्ध गर्ने दर्जनौं रूख र छतका प्यानल हटाइरहेका थिए । 'एउटा भवनको आठौं तलाबाट ठूलो स्टिलको छत उडेर सडकमा खस्यो, भाग्यवश कसैलाई चोट लागेन,' ६५ वर्षीय ट्रान भ्यान हङले भने ।

भियतनाम बर्सेनि टाइफुनको मारमा पर्छ, तर जलवायु परिवर्तनका कारण यी आँधीबेहरी अझै तीव्र र अप्रत्याशित बन्दै गएका छन् । यसले उष्णकटिबन्धीय क्षेत्रमा बाढी र विनाशकारी आँधीबेहरीको सम्भावना बढाएको विज्ञहरूले चेतावनी दिएका छन् ।

भिन्हकी ६० वर्षीया गुयेन थी होआले भनिन्, 'हामीलाई वर्षा र बाढीको बानी परिसकेको छ तर हिजो जस्तो तीव्र हावा र त्यसको विनाशकारी प्रभाव पहिले कहिल्यै अनुभव गरेको थिइँन ।'

बाढीका कारण भित्री पहाडी क्षेत्रका २७ गाउँ अलगिएका छन् भने ४४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्