
अष्ट्रेलियाले हालै सिड्नी र मेलबर्नमा भएका यहुदी-विरोधी हमलामा इरानको संलग्नता रहेको आरोप लगाउँदै दुई इरानी कूटनीतिज्ञलाई देश निकाला गरेको छ ।
पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री एन्थोनी अल्बानीजले देशको प्रमुख आन्तरिक गुप्तचर निकाय, एसआईओले पर्याप्त विश्वसनीय गुप्तचर सूचना संकलन गरेको र त्यस हमलामा इरानको संलग्नता भेटिएको बताए ।
‘इरानी सरकारले यीमध्ये कम्तीमा दुईवटा हमलाको निर्देशन दिएको थियो’, प्रधानमन्त्री अल्बानीजले सिड्नीको एक रेस्टुरेन्ट र मेलबर्नको एक सिनेगग (यहुदी प्रार्थनाघर)मा भएका हमलालाई संकेत गर्दै भने, ‘इरानले आफ्नो संलग्नता लुकाउन खोजेको थियो, तर एसआईओको मूल्यांकनमा यी हमलाहरूको पछाडि उसको हात रहेको देखिन्छ ।’
अल्बानीजको घोषणाभन्दा केही समयअघि अष्ट्रेलिया सरकारले इरानका राजदूतलाई बोलाएर दुई कूटनीतिज्ञलाई निष्काशन गरिने जानकारी दिएको थियो । यसका साथै, अष्ट्रेलियाले इरानमा रहेका आफ्ना कूटनीतिज्ञहरूलाई पनि फिर्ता बोलाएर तेस्रो देशमा सारेको छ ।
प्रधानमन्त्री अल्बानीजले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरलाई आतंकवादी संगठनको रूपमा सूचीकृत गर्ने योजना पनि बनाएको बताए ।
अष्ट्रेलियाले सेप्टेम्बरको शुरूमा हुने संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा गरेको बेला ती घटनाहरू घटाइएका हुन् ।
अष्ट्रेलियाको उक्त घोषणाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई क्रुद्ध बनाएको थियो । नेतान्याहूले अष्ट्रेलियामाथि इजरायललाई धोका दिएको आरोप लगाएका थिए ।
सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा भएको नरसंहार र त्यसपछि इजरायलले गाजामा शुरू गरेको सैन्य कारबाहीपछि मेलबर्न र सिड्नी दुवै शहरमा यहुदी-विरोधी घटनाहरूमा तीव्र वृद्धि भएको थियो ।