
चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्दै विश्वस्तरमै अग्रस्थान हासिल गरेको छ । हालसम्म चीनले नयाँ ऊर्जासम्बन्धी विश्वभर दर्ता भएका कुल प्रविधिगत अधिकारहरूमध्ये ४० प्रतिशतभन्दा बढी अधिकार प्राप्त गरेको चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रमुख वाङ होङझीले जानकारी दिए ।
मंगलबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “चौधौँ पाँचवर्षीय योजना (सन् २०२१–२०२५) अवधिभर चीनले ऊर्जा प्रविधिमा निरन्तर नवीनता ल्याउँदै धेरै क्षेत्रमा विश्व कीर्तिमान कायम गरेको छ ।”
सौर्य ऊर्जाको रूपान्तरण दक्षता (घामबाट विद्युत् उत्पादन गर्ने क्षमता) मा चीनले उल्लेखनीय सुधार गर्दै उच्च स्तरको प्रविधि विकास गरेको छ । त्यस्तै, समुद्री हावाबाट ऊर्जा उत्पादन गर्ने विशाल क्षमताका पङ्खा प्रणाली (टरबाइन) निर्माणमा पनि चीनले अग्रता लिएको बताइएको छ ।
नयाँ प्रविधिमा आधारित ऊर्जा भण्डारण प्रणालीहरूको विकास र कार्यान्वयनमा समेत चीन अहिले विश्वकै अगाडि रहेको छ ।