२३ जेठ २०८३, शनिबार

निक्की हत्या प्रकरणमा अर्को खुलासा, घटनाको दिन किन बन्द थिए सीसी क्यामेरा ?

भदौ ११, २०८२
काठमाडौं
निक्की हत्या प्रकरणमा अर्को खुलासा, घटनाको दिन किन बन्द थिए सीसी क्यामेरा ?

भारतको ग्रेटर नोएडाको सिरसा गाउँमा भएको निक्की भाटी हत्या प्रकरणको अनुसन्धान गर्दै गएको प्रहरीले नयाँ तथ्य फेला पारेको छ ।

अनुसन्धानमा आरोपी विपिनको घरमा आठ वटा सीसीटीभी क्यामेरा जडान गरिएको खुलेको छ । तीमध्ये चार वटा घर बाहिर र चार वटा दुई तले घरभित्र जडान गरिएका थिए । तर, घटनाको समयमा सबै क्यामेरा बन्द रहेका खुलासा भएको छ । 

प्रहरीका अनुसार २१ अगस्टको साँझ फोर्टिस अस्पतालले मेमो पठाएको थियो । त्यहाँ निक्कीलाई ल्याउनेहरूले सिलिन्डर पड्किएर जलेको दाबी गरेका थिए । तर, अस्पतालले तत्कालै उनलाई सफदरजंग अस्पताल पठाएको थियो, जहाँ राति करिब १० बजे निक्कीको मृत्यु भएको थियो ।

त्यसपछि परिवारले शवलाई दादरीस्थित रूपवास गाउँ लगेका थिए । शवलाई पुनः सिरसा गाउँ ल्याइएपछि २२ अगस्ट बिहान करिब ८ बजे अन्त्येष्टि गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

अन्त्येष्टिमा पीडित पक्षसँगै आरोपी पक्षका सदस्यहरू समेत सहभागी भएका थिए । निक्कीका ससुरा सतवीरले नै चितामा मुखाग्नि दिएका थिए । त्यतिबेला निक्कीको छोरा पनि उपस्थित थिए भने सासु महिला भएकाले अन्त्येष्टिमा गएकी थिइनन् । यसबारेको भिडियोसमेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

२२ अगस्ट दिउँसो १२:४० बजे निक्कीकी दिदी कञ्चनले विपिन, उनका बुवा सतवीर, आमा दयावती र दाजु रोहितविरुद्ध हत्या मुद्दा दर्ता गराएकी थिइन् । त्यसपछि उनीहरू फरार भएका थिए ।

अनुसन्धानमा सहयोगका लागि घटनास्थल, अस्पताल र अन्त्येष्टि स्थलमा आरोपीहरूको उपस्थितिबारे पत्ता लगाउन मोबाइल कल डिटेल्स निकालिएको प्रहरीले जनाएको छ । हालसम्म आरोपीलाई कस्टडीमा लिएर अनुसन्धान गर्ने वा घटनास्थल पुनःनिर्माण गर्ने योजना नरहेको तर आवश्यक परे जेलमै गएर सोधपुछ गर्न सकिने प्रहरीको भनाइ छ ।

प्रहरीले घटनास्थलमा सिलिन्डर पड्किएको प्रमाण भने फेला नपारेको जनाएको छ । बरु त्यहाँबाट थिनरको खाली बोतल र लाइटर बरामद भएको छ, जसलाई फरेन्सिक टोलीले आफूसँग लिएको छ । साथै, विपिनको कोठामा ओछ्यान फर्शमा भेटिएको प्रहरीले जनाएको छ । यसलाई देखेर घटनापूर्व पति–पत्नीबीच विवाद भएको आशंका गरिएको छ ।

प्रहरीका अनुसार निक्की र विपिनको विवाह सात वर्षअघि भएको हो । त्यसैले दाइजो उत्पीडनसम्बन्धी मुद्दा नबन्ने प्रहरीले जनाएको छ । यसअघि पनि दाइजो वा घरेलु हिंसासम्बन्धी कुनै औपचारिक उजुरी दर्ता नभएको प्रहरीको भनाइ छ । तर, पीडित परिवारका अनुसार फेब्रुअरीमा विपिन र आमाले निक्कीमाथि गरेको कुटपिटको भिडियो रहेको दाबी गरेका छन् । त्यस्तै, २१ अगस्ट साँझ करिब ५:४१ बजे सीढीमा बसेको निक्कीको भिडियो पनि सार्वजनिक भएको छ ।

यसैबीच, सामाजिक सञ्जालमा विपिनलाई रातो कपडा लगाएकी एक युवतीसँग अँगालो हाल्दै गरेको फोटो भाइरल भएको छ । प्रहरीले सो फोटो र घटनाको समय मिलान गर्न सीसीटीभी फुटेज जाँच गरिरहेको छ । आरोपित घरबाहिर रहेको ब्यूटी पार्लरमा जडान क्यामेराको फुटेज पनि प्रहरी नियन्त्रणमा लिएको छ ।

घटनापछि सामाजिक सञ्जालमा दुवै पक्षका समर्थकहरू आ–आफ्नो तर्क गर्दै भिडिरहेका छन् । विपिन पक्षले यो घटनालाई दुर्घटना भएको दाबी गर्दै सफाइ दिइरहेका छन् भने निक्की पक्षले आरोपितको अनुहारमा कतै दुःखको भाव नदेखिएको भन्दै प्रश्न उठाइरहेका छन् ।

यस्तै, निक्कीकी भाउजू मीनाक्षीले समेत आफ्नै ससुराली पक्षमाथि दाइजोका कारण यातना दिएको आरोप लगाएकी छन् । उनको भिडियोसमेत सार्वजनिक भएको छ । तर, निक्कीका दाजु रोहितले मीनाक्षीको आरोपलाई अस्वीकार गर्दै उनी स्वेच्छाले माइत बसेको र फर्कन नमानेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्