
सेतो स्कर्टमा रातो दाग । रगतले पछाडिपट्टिको भाग रातै बनाएको थियो । खासै दुखेको पनि थिएन-पेट । दोस्रो क्लास सकिएपछि तेस्रो घण्टी बज्यो । हेल्थ एण्ड पपुलेसनको पिरियड थियो त्यो । जसै, मिस कक्षाकोठामा पस्नुभयो र हामी विद्यार्थी उठ्यौं मैले मेरो स्कर्टमा रातो देखेँ ।
भदौ महिना, कक्षा ७ मा हुँदाको त्यो अनुभव अझैपनि ताजै छ मेरो आँखा अगाडि । शुक्रबार भएकाले १ बजे नै बिदा भयो विद्यालय । स्कर्टलाई अगाडि सारेर, झोलाले छोप्दै घर पुगेँ म । धन्न, विद्यालय र घरको दूरी पाँच मिनेट बढीको थिएन । जाने बित्तिकै आफ्नो कोठामा पसेँ । म सँगै गएकी साथीले मेरो मम्मीलाई बोलाइन् । त्यसपछि मम्मीले मलाई अर्को कोठामा सार्नुभयो ।
भुइँमा ओछ्यान लगाइदिनुभयो । त्यतिन्जेलसम्म म अन्योलमा नै थिएँ । रगत बग्यो भन्ने थाहा थियो । तर, रगत के कसरी बग्यो ? कताबाट बग्यो ? त्यो मलाई जानकारी थिएन । बस, यत्ति थाहा थियो म पनि मम्मीजस्तै मिन्स भएछु । यो शब्दसँग पनि म परिचित मम्मी र आन्टीको गफ सुन्दा भएको हो । मम्मीले महिनामा चार दिन मिन्स भए भनेर जलअंख्ररा छुनुहुन्थेन । यी यस्ता यस्ता कुरा सम्झिएर अलिकति भेउ पाएकी थिएँ के भएको । ती चारदिन जुठो भइन्छ भन्ने मेरो बालमस्तिष्कमा पसेको थियो ।
मिन्स भएको केही समयपछि हेल्थ एण्ड पपुलेसनको विषय प्रजनन्को पाठमा प्रवेश गर्यो । त्यसपछि महिनावारीका केही कुरा सतही रूपमा जानकारी पाएँ । विस्तारै मम्मीलाई तर्क दिन थालेँ । किन बार्नुपर्यो ? यो प्राकृतिक कुरा हो । तर, मम्मीको अगाडि म बच्चाको के जोड लागोस् । उसो त त्यतिबेला मसँग तर्कपनि पर्याप्त थिएन ।
जति हुर्कँदै गएँ त्यति बुझ्दै गएँ महिनावारीबारे । १२ कक्षामा जुलोजी विषयले राम्रोसँग बुझायो प्रजनन् प्रक्रिया र महिनावारीकाबारे । मलाई पढाइले सशक्त रूपमा ज्ञान दियो महिनावरी पाप होइन यो त जीवनको एक अध्याय हो भन्ने ।
यो बुझाइले मलाई हरेक वर्षको ऋषिपञ्चमीमा बिझाइरहन्छ । जब महिनावारी पाप हो भनेर महिलाले आफ्नो योनी पखाल्छन् । पितृसत्ताको संरक्षण बनेको धर्मको अगाडि घुँडा टेकेर अझै पनि महिलाहरू आफूलाई कमजोर बनाइरहन्छन् । डा. अरुणा उप्रेतीले एउटा आलेखमा प्रश्न गरेकी थिइन्– यदि महिनावारी हुनु भनेको पाप हो भने त त्यही महिनावारीको रगतका कारणले जन्मेका हामी सबै के हौं त, पापी ?
हामी जीवन हौं भने जैविक प्रक्रियालाई पाप किन भनिरहेका छौं त ? आफ्नो योनीलाई खोलाछेउ गएर किन धोइरहेका छौं ? महिलाको अण्डाश्यमा हजारौं अण्डाणु हुन्छन् । हरेक महिना साधारणतय एउटा अण्डाणु परिपक्व भएर बाहिर निस्कन्छ, जसलाई ओभुलेशन भनिन्छ । परिपक्व अण्डाणु डिम्बबाहिनी नलीमा प्रवेश गर्छ । त्यससमयमा गर्भाशय पनि तयारीमा हुन्छ– त्यहाँको भित्ते भाग रगत, तन्तु र पोषणले बाक्लो बनाएर । डिम्बबाहिनी नलीमा अण्डाणु र शुक्राणुको भेट भए, उक्त निषेचित अण्डाणु गर्भाशयमा टाँसिन्छ र भ्रूणको रूपमा विकास हुन्छ ।
यदि, त्यो समयमा अण्डाणु र शुक्राणुको भेट भएन भने गर्भ रहँदैन । गर्भाशयले तयारीका रूपमा राखेको रगत, तन्तु र पोषणयुक्त बाक्लो तह यस्तो बेला व्यर्थ बन्छ । जो शरीरका लागि अनावश्यक बन्छ । जसकारण शरीरले त्यसलाई बाहिर फालिदिन्छन् । ताकी, नयाँ शुरूआत होस् । यो चक्र निरन्तर भइरहन्छ । यही चक्रको समयमा शुक्राणुले अण्डाणु भेटे गर्भ बस्छ र भ्रूणको विकास हुन्छ । यसरी हेर्दा, महिनावारी र गर्भधारण दुवै प्रक्रिया एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् । यदि, गर्भ बस्नु जीवन हो भने, त्यसमा हुने प्राकृतिक चक्र पाप वा अशुद्ध कसरी हुन्छ ?
माथि प्रस्ट्याइका कुराले बुझाउँछ यो पाप होइन । धर्मका नाममा पितृसत्तात्मक समाजले आफ्नो अनुकूल व्याख्या गरी सदियौंदेखि हुँदै आइरहेको जालझेल हो । यो कपटको भागेदर हामी भइरहेका छौं । धन्य यो कपटको भागेदर म बन्नु परेन । ११ वर्षको उमेरमा पहिलोपटक महिनावारी भइसकेपछि सबैले भनेका थिए अब यसले पनि पूजा लगाउन शुरू गर्दा हुन्छ । तर, मम्मीले दिनुभएन । ‘सानै छ ठूली भएपछि गर्न मन लागे गर्छे’, मम्मीले भनेको वाक्य स्पष्ट याद छ मलाई । उहाँ आफैंले यो व्रत बस्ने भएपनि मलाई यसबाट मुक्ति दिनुभयो । किनकि मलाई थाहा छ त्यसबेला पूजाको शुरूआत मैले गरेकी भए मेरो मस्तिष्कमा छाप बस्थ्यो कुरितिको । जसलाई उक्काएर फाल्न मलाई पक्कै हम्मेहम्मे पर्थ्यो ।
तर्क/कुतर्क आउला यो हाम्रो धर्म संस्कृति हो – शास्त्रमा लेख्या छ महिलाले बार्नुपर्छ भनी । प्राकृतिक प्रक्रियालाई पाप नामकरण गरेको धर्म हुन सक्दैन । कानूनले समेत महिनावारीमा हुने विभेदलाई अपराध मान्छ । तैपनि महिलाले छाउपडी जस्तो डरलाग्दो प्रथाका कारण ज्यान गुमाउनुपरेको छ । मलाई अचम्म लाग्छ धर्मको हवला दिँदै यी यावत् नियमदेखि बन्देज महिलालाई मात्र किन? फेरि उत्तर पाइहाल्छु- समाजले शास्त्र र धर्मलाई आफू अनुकूल व्याख्या गर्दै आइरहेको छ ।
उसको हरेक व्याख्यामा महिला दोस्रो दर्जामा हुन्छन् । त्यसैले त पुरुषको लामो आयुका लागि व्रत बस्ने जिम्मेवारी महिलाको छ । फेरि यसमा तर्क आउला यसमा महिलाको स्वेच्छा । तर, थाहा हुनैपर्ने कुरा– पितृसत्तामक मानसिकताको लिङ्ग हुँदैन । त्यसकारण यसको संरक्षणका लागि कति महिला ढाल बनेर उभिन्छन् पनि । पितृसत्ताविरुद्ध बोल्दा आउने सबैभन्दा ठूलो चुनौती यो मानसिकताको संरक्षण गरिरहेका महिलासँग लड्नु हो । त्यसैले पनि यो सामाजिक संरचना र यसको मानसिकतालाई हटाउन निकै कठिन छ ।
यद्यपि, आजभोलि महिनावारीका विषयमा खुलेर कुरा भएको देख्दा खुशी लाग्छ । तर, जति हुनुपर्ने हो त्यति भएको छैन । पिरियडसको समयमा हुने दुखाइदेखि मुडस्विंगस्का विषयमा कुराकानी अपर्याप्त छ । प्रिमेन्स्ट्रुअल सिन्ड्रोम अर्थात् (पीएमएस) महिनावारी पूर्व हुने लक्षणबारे त हामीले बहस शुरू गरेको छैनौं भन्दा पनि हुन्छ । महिनावारीका समयमा वा हुनुअघि भोग्ने शारीरिक र मानसिक पीडाकाबारे हामी बोलेकै छैनौं ।
पीएमएसबाट पीडित कतिपय महिला आत्महत्याको सोचसम्म पुग्छन् । लण्डनमा करिब ४० वर्षअघि १८ वर्षीया एक किशोरीले आफ्नै घरमा आगो लगाइन् । आमा घरभित्रै रहँदा आगो लगाएकी उनलाई आमाको हत्या आरोपमा लामो समय जेल सजाय सुनाइएको थियो । तरपछि, विशेषज्ञ चिकित्सकले ती किशोरीलाई पीएमएस समस्या रहेको प्रमाणित गरे । अदालतले सो प्रमाणलाई दोष घटाउने आधारका रूपमा स्वीकार गर्यो र यसले इतिहासमै पहिलोपटक कानूनी नजिर स्थापना गर्यो ।
यसबाट थाहा हुन्छ हामीले बहस के कस्ता विषयमा गर्नुपर्छ । स्वच्छ महिनावारीका विषयमा छलफल चलाउनु आवश्यक छ । उसो त यसलाई सामान्यकरण पनि गरिन्छ- यो त सबैलाई हुन्छ । तर, सबै महिलाको महिनावारी उस्तै हुँदैन भन्ने कुरा माथिका उदाहरणबाट पनि बुझिन्छ ।
यता, हामी भने अझैपनि महिनावारी पाप हो भन्दै योनी धुनमा अड्किएका छौं । आफूखुशी व्याख्या गर्दै धर्मले स्वच्छता सिकाइरहेको छ भन्ने तर्क कोही दिन्छ भने त्यो आउटडेटेड भइसक्यो । जसरी मैले लेखको यो लेख पाठकका हातमा सजिलै पुग्ने प्रविधिको विकास भएको छ ।
उसैगरी स्वास्थ्यविज्ञानले ठूलो फड्को मारेको छ । ऊबेला जवाफ नपाएका विषयमा आज विज्ञानले ढोका खोलेको छ । खोलामा गएर गुप्तांग सफा गर्नु स्वच्छ महिनावारीको पाठ होइन । सफा स्यानिटरी प्याड, नियमित प्याड परिवर्तन, अत्याधिक साबुन वा कुनैपनि रसायन प्रयोगविना सफा पानीले योनी धुनु, सन्तुलित आहारका साथ आराम र यसबारेमा खुला संवाद नै महिनावारी स्वच्छता हो । र, मेरो रजस्वला पाप होइन ।