
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसँग समेत विशेष भेटवार्ता गर्ने भएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले पुटिनसँगको भेट नेपालका लागि कूटनीतिक दृष्टिले ऐतिहासिक अवसर हुने बताए ।
प्रधानमन्त्री ओलीले शनिबारदेखि शुरू हुने पाँच दिने औपचारिक भ्रमणअन्तर्गत पहिलो चरणमा तियानजिन पुग्ने र त्यहाँ शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने जानकारी दिए।
उनले नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदारको रूपमा आबद्ध हुँदै आएको र यसपटक सम्मेलनमा नेपालको स्पष्ट दृष्टिकोण राख्ने तयारी गरिएको प्रष्ट पारे।
समसामयिक क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दामा नेपालको अडान प्रस्तुत गर्ने भन्दै ओलीले राष्ट्रिय हित प्रवर्द्धन आफ्नो भ्रमणको मुख्य उद्देश्य रहेको बताए ।
उनले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय भेटवार्ता हुने र चीनका उपराष्ट्रपति हान झेङसँग पनि बेइजिङमा भेटघाट हुने जानकारी संसद्लाई दिए।