
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
००००
सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यही भदौ १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले लोकान्तरलाई बताए ।
००००
रुपन्देही–३ मा कात्तिक १७ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनका लागि उम्मेदवार छान्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको ‘प्राइमरी इलेक्सन’ सम्पन्न भएको छ।
रास्वपाका सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिनकुमार आचार्यका अनुसार बिहीबार बिहानदेखि सुरु भएको अनलाइन भोटिङ शुक्रबार साँझ ७ बजे सकिएको हो। कुल २७१६ मतदाता मध्ये १५६७ जनाले मत खसालेका छन्। पार्टीको नियमअनुसार केन्द्रीय समितिका सदस्यले पनि मत हाल्न पाउने प्रावधान रहेकामा ६२ सदस्य मध्ये २७ जनाले मात्र भोट दिएको उनले बताए।
००००
प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ बहुमतले पारित गरेको छ ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको सो विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।
००००
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ को पहिलो संशोधन गरेको छ ।
शुक्रबार राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८२ पहिलो संशोधन बमोजिम कार्य गर्न निर्देश जारी गरेको हो ।
००००
वीरगन्जका अस्पतालमा भर्ना भएका करिब साढे चार सय हैजा संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।
वीरगन्ज महानगर आसपासमा हैजा सङ्क्रमण फैलिएपछि यहाँका १८ वटा अस्पतालमा उपचारपछि घर फर्किएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।
००००
निश्चित ब्रान्ड नै तोकेर ३० करोड बजेट विनियोजन गर्ने कार्यमा सम्बन्धित प्रतिष्ठानहरू मात्र जिम्मेवार रहेको दाबी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरे पनि यो कार्यमा तलदेखि माथिसम्मै सेटिङ भएको खुलेको छ ।
अमेरिकाको मेडट्रोनिक कम्पनीद्वारा उत्पादित ओ आर्म, नेभिगेसन र न्यूरो ड्रिल प्याकेजमै आयात गर्ने गरी सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा बजेट विनियोजन गरिएको छ ।
००००
काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अरनिको पाँडेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले पाँडेलाई २० हजार धरौटीमा छाड्न शुक्रबार आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
५ करोड ७९ लाख ६२ हजार ४४० रुपैयाँ बिगो कायम गर्दै उनीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगन्जमा तीव्र रूपमा फैलिरहेको हैजा नियन्त्रणका लागि नेपाल प्रहरी र नेपाली सेना समेत परिचालन गरिने बताएका छन् । शुक्रबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले हैजा नियन्त्रण गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताए ।
००००
लुम्बिनी क्षेत्रलाई प्रदूषणबाट जोगाउन भन्दै दायर भएको रिटमा सर्वोच्च अदालतले परमादेश जारी गरेपछि यस क्षेत्रमा सञ्चालित उद्योग धन्दामा हलचल पैदा भएको छ ।
जनहित संरक्षण मञ्चले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै २०८२ भदौ १ गते सर्वोच्चले लुम्बिनी क्षेत्र विकास कोष आसपासका उद्योग २ वर्षभित्र बन्द वा स्थानान्तरण गर्न परमादेश दिएको थियो ।
००००
स्थानीय तह पुनःसंरचनापश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको सङ्ख्या शून्यमा झारिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतले सञ्चालन गरेका थिए ।
००००
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।
नेपाली बजारमा बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य तोलामा एक हजार २०० रुपैयाँले वृद्धि भएको छ भने त्यति नै परिमाणको चाँदी पाँच रुपैयाँले बढेको छ ।