
विश्व क्रिकेटकै महान खेलाडीमध्येका एक सर डोनाल्ड ब्राडम्यानले एसेस शृंखलाका क्रममा लगाएको क्याप (टोपी) दुई लाख ८६ हजार सात सय अमेरिकी डलर (करिब चार करोड नेपाली रुपैयाँ)मा बिक्री भएको छ ।
आफ्नो समयका प्रभावशाली अस्ट्रेलियन खेलाडी ब्राडम्यानले सन् १९४६–४७ मा परम्परागत एसेस शृंखला खेल्दा उक्त क्याप लगाएका थिए । उक्त क्याप अस्ट्रेलियाको नेशनल म्युजियमले खरिद गरेको समाचारमा जनाइएको छ ।
उक्त म्युजियम राजधानी क्यानबेरामा रहेको छ । उक्त क्यापको आधा रकम अस्ट्रेलियाको केन्द्र सरकारले चुक्ता गरेको बताइएको छ । सन् १९४६–४७ को एसेस शृंखलामा ब्राडम्यानले टोलीको कप्तानी गर्दा उक्त क्याप लगाएका थिए ।
उक्त एसेस शृंखला दोस्रो विश्व युद्धपछि अस्ट्रेलियाले इङ्ल्यान्डसँग खेलेको पहिलो शृंखला पनि थियो । अस्ट्रेलियन टोलीले पाँच टेस्टको उक्त शृंखला ३–० ले जितेको थियो ।
‘तपाईँ शायदै कुनै यस्तो अस्ट्रेलियन नागरिकलाई भेट्नु होला जसले सर डोनाल्ड ब्राडम्यानको नाम सुनेको छैन । त्यसैले यो क्याप खरिद गरेर हामी नयाँ पुस्तालाई इतिहासको महत्त्व बुझाउन चाहन्छौं,’ अस्ट्रेलियाका कला तथा संस्कृति मन्त्री टोनी बर्कले भनेका छन् ।
ब्राडम्यानको यो क्यापले अस्ट्रेलियामा दशकौंदेखि विकसित हुँदै आएको खेल र संस्कृतिबीचको आपसी सम्बन्धलाई पनि दर्साउने धारणा मन्त्री बर्कले व्यक्त गरे । यो क्याप ब्राडम्यानको ११ वटा ब्यागी ग्रिन्स क्यापमध्ये एक हो ।
उनले लगाएको एउटा क्याप अस्ट्रेलियाको स्पोर्ट्स म्युजियममा पनि राखिएको छ । बाँकी नौ वटा क्याप भने विभिन्न व्यक्तिले खरिद गरेका छन् ।
नेशनल म्युजियमकी निर्देशक क्याथरिन म्याकमहनले ब्राडम्यानको यो क्यापले अब म्युजियमको शोभा बढाउने बताइन् ।