
लघुजलविद्युत्को भरमा हरेका बागलुङका ग्रामीण क्षेत्रमा धमाधम केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरण बागलुङ शाखाले पछिल्लो एक वर्षमा यस वर्ष दुई हजार १२० घरमा केन्द्रीय प्रसारण लाइन विस्तार गरेको छ । वर्षौँदेखि लुघजलविद्युत् आयोजनामार्फत विद्युत् प्रयोग गर्दै आएका क्षेत्रमा केन्द्रीय लाइन विस्तार गरिएको हो ।
जिल्ला सदरमुकाम आसपास क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार भइसकेको हुँदा अहिले पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकामा काम भइरहेको विद्युत् प्राधिकरणका प्रमुख पवन पौडेलले जानकारी दिए। पछिल्लो एक वर्षमा दुई हजार बढी घरमा केन्द्रीय लाइन विस्तार गर्दा ३७ हजार ४१६ ग्राहक बढेको उनको भनाइ छ ।
प्रमुख पौडेलका अनुसार रु १५ करोड ९२ लाख ५२ हजार १७७ लागतमा ३५ किलोमिटर ११ केभी र ४९ किलोमिटर शून्य दशमलव चार केभी लाइनको संरचना निर्माण गरिएको छ । एक वर्षमा ३७ स्थानमा ट्रान्फर्म जडान भएको पौडेलले जानकारी दिए । जिल्लाभर हालसम्म ८५ प्रतिशत घरमा विद्युत्को पहुँच पुगेको भन्दै त्यसमध्ये २९ दशमलव नौ प्रतिशत घरमा मात्र लघुजलविद्युत्को प्रयोग भइरहेको उनको भनाइ छ ।
केन्द्रीय लाइन विस्तार भएपछि ग्रामीण क्षेत्रका स्थानीय खुसी भएका छन् । केन्द्रीय लाइन जडान गरेपछि लघुजलविद्युत् बिग्रिँदा महिनौँसम्म अँध्यारोमा बस्नुपर्ने बाध्यता हटेको बडिगाड गाउँपालिका–९ का कुलबहादुर क्षेत्रीले बताए। केन्द्रीय लाइन जडान भएपछि बर्खाको समयमा धेरैपटक लाइन जाने गरेको उनको भनाइ छ । पछिल्लो एक महिनादेखि दैनिक दुईदेखि पाँच घण्टा लाइन जाने गरेको क्षेत्रीले गुनासो पोखे ।
हालसम्म बागलुङका अधिकांश बस्तीमा केन्द्रीय तथा लघुजलविद्युत्को लाइन पुगेको छ । तर निसीखोला गाउँपालिका–५ स्थित निसेलढोर भने अन्धकारमै छ । राज्यले उपेक्षामा पार्दा सिङ्गो गाउँ नै अन्धरकारमा बस्न बाध्य रहेको स्थानीय देवबहादुर विकले बताए ।