१३ असार २०८३, शनिबार

अफगानिस्तान भूकम्प अपडेट : मृतकको संख्या ६२२ पुग्यो, १५५५ जना घाइते

भदौ १६, २०८२
काठमाडौं
अफगानिस्तान भूकम्प अपडेट : मृतकको संख्या ६२२ पुग्यो, १५५५ जना घाइते

अफगानिस्तानको पूर्वी प्रान्त कुनार र नंगरहार केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ६२२ पुगेको छ ।

घटनामा १ हजार ५५५ जना घाइते भएको अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

मृत्यु र घाइते हुनेको संख्या लगातार बढिरहेको जनाउँदै मन्त्रालयले उद्धार टोलीलाई प्रभावित क्षेत्रमा खटाइएको उल्लेख गरेको छ । रोयटर्सका अनुसार भूकम्पपछि सयौं घर भत्किएका छन् भने प्रभावित क्षेत्रमा ठूलो संख्यामा मानिस विस्थापित भएका छन् ।

स्थानीय अधिकारीका अनुसार उद्धार तथा राहतका कामलाई तीव्र पारिएको छ । घाइतेलाई नजिकैका अस्पतालमा उपचारका लागि पुर्‍याइएको छ । तर, प्रभावित क्षेत्रमा सडक अवरुद्ध र संरचनागत क्षतिको कारण उद्धारमा कठिनाइ भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघसहितका अन्तर्राष्ट्रिय सहायता निकायले आपतकालीन सहयोगका लागि तयारी भइरहेको जनाएका छन् । प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, अस्थायी आवास र औषधोपचारको आवश्यकता परेको अधिकारीहरूले बताएका छन् ।

भूकम्प गएपछि सर्वसाधारण आतङ्कित बनेका छन् । धेरै मानिस अझै भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । यसले गर्दा मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

आइतबार राति ११:४७ बजे (स्थानीय समय) अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार, भूकम्प जलालाबाद शहरबाट लगभग १७ माइल टाढा गएको थियो ।​

जलालाबादको जनसंख्या लगभग दुई लाख छ र यो राजधानी काबुलबाट सडक मार्गबाट ​​१०० माइलभन्दा कम दूरीमा छ । रातभरि शहरमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो ।

यसअघि ७ अक्टोबर २०२३ मा अफगानिस्तानमा विनाशकारी भूकम्प गएको थियो । तालिबान सरकारले उक्त भूकम्पमा ४ हजारको मृत्यु भएको दाबी गरेको थियो ।

त्यसैगरी, २०२२ मा पूर्वी अफगानिस्तानमा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा करिब १ हजार मानिसको मृत्यु भएको थियो र हजारौं घाइते भएका थिए ।

अफगानिस्तानमा शक्तिशाली भूकम्प गैरहन्छ । हिन्दुकुश पर्वतश्रृंखलालाई भूकम्पको हिसाबले सक्रिय मानिन्छ, जहाँ हरेक वर्ष भूकम्प आउँछ ।

salt training

कमेन्ट गर्नुहोस्