
पूर्वी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट कम्तीमा हालसम्म ८०० जनाको मृत्यु भएको छ भने २ हजार ५०० भन्दा बढी घाइते भएका छन् । भूकम्प आइतबार राति नंगरहार प्रान्तको जलालाबाद नजिकै कुनार प्रान्तका विभिन्न क्षेत्रमा गएको थियो ।
भूकम्पको धक्का राति ११:४७ बजे महसुस भएको अमेरिकी भूवैज्ञानिक सर्वेक्षणले जनाएको छ । ६.० म्याग्निच्युडको भूकम्पको केन्द्र जलालाबाद शहरदेखि करिब २७ किलोमिटर पूर्व-उत्तर–पूर्वमा र ८ किलोमिटर गहिराइमा रहेको थियो । कम गहिराइमा गएको भूकम्प भएकाले क्षति ठूलो भएको बताइएको छ ।
तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार मृत्यु हुनेको संख्या बढ्न सक्नेछ । प्रभावित क्षेत्रमा सञ्चार अवरुद्ध भएको र उद्धार कठिनाइ भएको कारण वास्तविक तथ्यांक अझै आउन बाँकी रहेको जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले काबुलसहित विभिन्न प्रान्तबाट उद्धार टोली पठाइएको र घाइतेको उपचार भइरहेको जानकारी दिएका छन् ।
नूरगल जिल्ला लगायतका गाउँहरूमा धेरै घर ध्वस्त भएका छन् । स्थानीयहरूले आफ्ना परिवारजन भत्किएका घरमुनि परेको बताउँदै तत्काल उद्धारका लागि सहयोग गर्न आग्रह गरेका छन् । भिडियो र प्रत्यक्षदर्शीका भनाइअनुसार बाँच्नेलाई पनि उद्धार गर्न गाह्रो भइरहेको छ ।
जलालाबाद अफगानिस्तानको एक प्रमुख व्यापारिक शहर हो जसको करिब तीन लाख जनसंख्या रहेको अनुमान छ । शहर वरपरका धेरै घर माटो र काठबाट बनेका कमजोर संरचना भएकाले ठूलो क्षति भएको बताइएको छ ।
यसअघि सन् २०२३ अक्टोबर ७ मा पनि अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा कम्तीमा १,५०० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको थियो ।