
कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले मन्त्रालयका सचिव शरणकुमार पाण्डेले चढ्ने गरेको गाडीको चाबी खोसेका छन् ।
आफूलाई असहयोग गरेको भन्दै मन्त्री हाङगामले सोमबार मुख्यमन्त्री कार्यालय पुगेका सचिव पाण्डेको गाडीको चाबी खोसेका हुन् । आफू चढ्ने गाडीको चाबी खोसिएको सचिव पाण्डेले स्वीकार गरेका छन् ।
हाङगाम मन्त्रिपरिषद् बैठकका लागि मुख्यमन्त्री कार्यालय पुगेका थिए ।
मन्त्रिपरिषद् बैठक सकेर निस्कँदा गाडी नदेखेपछि बुझ्दा मन्त्रीको दबाबमा चाबी खोसिएको जानकारी आएको सचिव पाण्डेले बताए ।
मन्त्री हाङगाम र सचिव पाण्डेबीच कर्मचारी नियुक्ति लगायतका विषयमा द्वन्द्व चलिरहेको स्रोतहरूको दाबी छ । मन्त्रालय स्रोतका अनुसार, केही कर्मचारीको विषयलाई लिएर मन्त्री र सचिवबीच असमझदारी बढेको हो ।
गत असारमा गृह जिल्ला ताप्लेजुङमा मन्त्री हाङगामले पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेमाथि मुक्का प्रहार गरेका थिए । त्यसपछि उनी निरन्तर विवादमा पर्दै आएका छन् ।
२०८० भदौ २२ गते ताप्लेजुङको मिनी महोत्सवको विवादमा सांसद हाङगामले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका तत्कालीन प्रमुख (डीएसपी) राजन लिम्बूलाई ज्यान मार्ने धम्की नै दिएका थिए ।
आफ्नो गाडीको चाबी खोसिएको विषय मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई जानकारी गराएको पाण्डेले जानकारी दिएका छन् ।
मन्त्री हाङगामका स्वकीय सचिव अशोक लिम्बूले भने गाडीको चाबी मन्त्रीले नखोसेको दाबी गरेका छन् । ‘गाडी र ड्राइभर नै अहिले मन्त्रालयमा नै छन्,’ उनले भने ‘मन्त्रीज्यू ताप्लेजुङ जाँदै हुनुहुन्छ । मन्त्रीज्यू आफैंले चाबी खोस्नुभएको होइन ।’