
काठमाडौं २७ मंसिर– नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आफ्नो अपराजित यात्रालाई कायम राखेका छन् । २०७० सालको संविधानसभा चुनावमा जस्तै यसपटक प्रतिनिधि सभा चुनावमा पनि गच्छदार झिनो मतअन्तरले विजयी भए । गच्छदारले २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका छन् ।
नेकपा एमालेकी नेतृ भगवती चौधरी भने दुइ पटक नै गच्छदारसँग झिनो मतअन्तरले पराजित भइन । बुधवार मध्यान्ह सार्वजनिक भएको मतगरिणाम अनुसार चौधरी ३२१ मतअन्तरले पराजित भइन । गच्छदारले ३८ हजार ९७२ मत पाउदा चौधरीले ३८ हजार ६५१ मत पाइन ।
२०७० सालको संविधानसभा निर्वाचनमा चौधरीलाई नै पराजित गरेका गच्छदार १७ हजार पाँच सय २४ मत ल्याएर विजयी भएका थिए । तीन सय ६२ मतले पछि पारेकी भगवतीले १७ हजार १ सय ६२ मत पाएकी थिइन ।
गच्छदारसंग चुनाव हार्नु पहिले चौधरी २०६४ सालको संविधानसभा चुनावमा मन्त्रिपरिषद्को मनोनित कोटामा सभासद् बनेकी थिइन । समाजशास्त्रमा स्नातकोत्तर चौधरी छोटो समय राज्यमन्त्री बनेकी थिइन ।