
जेन–जीको नाममा भएको प्रदर्शनले उग्र रूप लिएको छ । प्रदर्शनकारीले पूर्वप्रधानमन्त्रीदेखि मन्त्री र सांसदसम्मका घरमा तोडफोड र आगजनी गरेका छन् ।
सुरक्षा तादम्यता नमिल्दा प्रदर्शनकारी सहजै नेताका घरघर छिरेर तोडफोड र आगजनी गरिरहेका छन् । जेनजीको आन्दोलनको दोस्रो दिन स्थिति नियन्त्रणबाहिर जान थालेको छ ।
प्रदर्शनकारीले मंगलबार बिहानैदेखि नेताका घरघरभित्र प्रवेश गरेर आगजनी र तोडफोड गरेका हुन् । कर्फ्यु तोडेर झुण्ड झुण्डमा निस्किएका प्रदर्शनकारीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास र कैलालीको धनगढीमा रहेको निवासमा समेत आगजनी र तोडफोड गरेका छन् । बूढानीलकण्ठमा रहेको ऊर्जामन्त्री दीपक खड्काको घरमा पनि तोडफोड र आगजनी गरिएको छ ।
प्रदर्शनकारीले अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित घरमा आगजनी र तोडफोड गरेका छन् । प्रचण्डलाई आतंककारीको संज्ञा दिँदै उनको निवासमा पेट्रोल छर्केर आगजनी गरिएको हो । प्रहरी र प्रदर्शनकारीबीच अहिले पनि झडप जारी छ ।
बहालवाला मन्त्री एवं सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरस्थित सुनकोठी निवासमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।
सोमबारको घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको नैकापस्थित घरमासमेत प्रदर्शनकारीले आगजनी गरेका छन् । मध्यबानेश्वरस्थित नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको घरमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका छन् । जनकपुरमा एमाले नेता एवं पूर्वमन्त्री रघुवीर महासेठको घरमा पुगेर प्रदर्शनकारीले तोडफोड गरेका छन् ।
प्रहरी विश्लेषणमा सोमबारको प्रदर्शनमा जेनजीमात्रै नभएर युवाहरू खुलमखुला प्रदर्शनमा उत्रिएका छन् । उनीहरूले विशेषगरी राजनीतिक दलका नेताको निवास र पार्टी कार्यालयलाई लक्षित गरेर तोडफोड र आगजनी गर्ने रणनीति बनाएका छन् । अहिले प्रहरीले पार्टी कार्यालय र नेताका निवासमा समेत सुरक्षाकर्मी बढाएको छ ।
लितपुरको मन्त्री क्वार्टरमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।
जेनजी प्रदर्शनका क्रममा शीर्ष नेतामाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा राख्न थालेका छन् । नेताहरूलाई सुरक्षित स्थानमा लैजान सेनाको हेलिकप्टर परिचालन गरिएको छ ।
बल्खुमा उग्र प्रदर्शनकारीको भीडलाई सुरक्षाकर्मी (प्रहरी र सशस्त्र प्रहरी)ले नियन्त्रण गर्न नसकेपछि अहिले सेना परिचालन गरिएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एक उच्च अधिकारीले भने, ‘सोमबारै संयम अपनाइएको थियो भने आज यो घटना हुँदैनथ्यो भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’
कार्यालयका प्रवक्ता एवं एसएसपी शेखर खनालले अहिले उपत्यकाभरिका चोकचोकमा आगो बालेर प्रदर्शन गरिरहेका छन् । उनले भने, ‘उपलब्ध सुरक्षाकर्मी परिचालित गरेर स्थितिलाई सामान्यीकरण गर्न खोज्दै छौं ।’
उपत्यका मात्रै नभएर उपत्यका बाहिर मुख्यगरी मकवानपुर, रौतहट, कास्की, रुपन्देही, कैलाली, झापा, मोरङ, सुनसरी, इटहरीलगायत अधिकांश जिल्लामा प्रदर्शन भइरहेका छन् ।