
जेनजी पुस्तामाथि भएको दमनप्रति असन्तुष्टि जनाउँदै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत पौडेलले राजीनामाको घोषणा गरेका हुन् ।
पौडेलले लेखेका छन्, ‘हिजो भदौ २३ गते देशैभरि सडकमा देखिएको दृश्य लोकतन्त्रमा उपयुक्त थिएन । जेनजी पुस्ताले भ्रष्टाचार र कुशासनविरुद्ध उठाएको आक्रोश स्वाभाविक र जायज खबरदारी थियो । उनीहरूले केवल प्रश्न सोधेका थिए, भिडन्त होइन ।’
आफ्नै नागरिकमाथि राज्यद्वारा भएको दमन स्वीकार गर्न नसकेको उल्लेख गर्दै पौडेलले मन्त्री पदमा रहिरहन आफ्नो आत्माले नमानेको बताएका छन् ।
‘निहत्था छोराछोरी पुस्ताको रगत बगिरहेको दृश्यको साक्षी बन्न सकिनँ,’ उनले भनेका छन् ।
राजीनामा पत्रमा उनले लोकतन्त्रको मूल आदर्श नागरिक अधिकारको रक्षा र संवादमार्फत समस्याको समाधान गर्ने हो भन्दै असहमतिको आवाजलाई दमन गर्नु गलत भएको प्रस्ट पारेका छन् ।
‘आजको युवा पुस्ताको ऊर्जा र चेतनालाई सम्मान गरेर मात्र देश अघि बढ्न सक्छ,’ पौडेलले भनेका छन् ।
पार्टी नेपाली कांग्रेस, स्वास्थ्यकर्मी तथा मन्त्रालयका कर्मचारीप्रति आभार प्रकट गर्दै उनले आफ्नो व्यक्तिगत जीवन र राजनीतिक यात्रामा लोकतान्त्रिक मूल्य सर्वोच्च रहने बताएका छन् ।