१० साउन २०८३, आइतबार
जेनजीको प्रदर्शन

राज्यका महत्त्वपूर्ण सबै अंगहरूमा प्रदर्शनकारीको कब्जा

भदौ २४, २०८२
काठमाडौं
राज्यका महत्त्वपूर्ण सबै अंगहरूमा प्रदर्शनकारीको कब्जा

जेन–जीको प्रदर्शनले राज्यका सबैजसो महत्त्वपूर्ण अंगहरूमा विध्‍वंस मच्चिएको छ ।

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवन, अदालतलगायत संरचनाहरूमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरिदिएका छन् ।

सुरक्षार्थ खटिएका नेपाली सेना, प्रहरी सशस्त्र प्रहरीको समेत केही सीप नलागेपछि उनीहरू ज्यान जोगाउन तर्फ लागेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का अन्य सदस्यहरूले समेत राजीनामा दिँदा समेत जेनजीको प्रदर्शन रोकिएको छैन ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेन–जीहरूलाई संयमता अपनाउन भनेका छन् । सरकारी संरचना आगजनी र तोडफोड नगर्न भनेका छन् ।

तर, प्रदर्शनकारीहरू अझै आगजनी र तोडफोडमै उत्रिएका छन् ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले बालुवाटारबाट सुरक्षित स्थानतर्फ स्थानान्तरण गरेको छ । अन्य नेता तथा मन्त्रीहरू सेनाकै हेलिकप्टरमार्फत सुरक्षित स्थानान्तरण भएका छन् ।

बालेनले संसद् विघटन गरेर मात्रै सेनासँग वार्ता गर्ने भनिरहँदा सेनाले कसरी समन्वयकारी भूमिका खेल्छ त्यो अहिल्यै आकलन गर्न सकिँदैन ।

मुख्यसचिव, प्रधानसेनापति लगायतले संयुक्त विज्ञप्ति जारी गर्दै यथाशक्य संवाद थाल्न भनेका छन् ।

प्रदर्शनकारीले राष्ट्रपति रामचन्द्र पौडेलको निवासमा समेत आगजनी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार भित्र समेत प्रदर्शनकारी प्रवेश गरेका छन् ।

यसरी हेर्दा सबै संरचनामामा आगजनी र तोडफोड गरिएको छ ।

अहिले प्रधानसेनापतिसहित सुरक्षा अंगका प्रमुख सम्मिलित बैठक बसिरहेको छ ।

कुन ढंगबाट आगामी सरकारको निर्माण गर्ने र जेनजीहरूको माग पूरा गर्नेतर्फ बैठक चलिरहेको उच्च स्रोत बताउँछन् ।

प्रदर्शनकारीले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि धावा दिइरहेका छन् ।

एक उच्च सुरक्षा अधिकारी भन्छन्, ‘अहिले सार्वजनिक रूपमा बोल्दा राम्रो सन्देश जाँदैन, तर, राज्यका तीन वटै संरचनामाथि यो हदको विध्‍वंसले अब राज्य पुनर्संरचनाको नयाँ रुप लिने निश्चित छ ।’

प्रदर्शनको नेतृत्व कसले गरेको हो ? को वार्तामा आउने हो ? वा बालेन आफैं वार्तामा आउने हुन् भने पनि त्यसअनुसार वार्ताको मोडालिटी बनाएर वार्तामा बस्न केही समय लाग्ने ति अधिकृत बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्