०२ असार २०८३, मंगलबार

नरेन्द्र मोदी धेरै च्याउ खाएर गोरा भएका हुन् ?

मंसिर २८, २०७४
नरेन्द्र मोदी धेरै च्याउ खाएर गोरा भएका हुन् ?

काठमाडौं, २८ मंसिर — भारतको गुजरातमा भइरहेको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा मंगलवार अल्पेश ठाकुर नामक एक युवा नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा रमाइलो बयान दिएका छन् । 

चुनाव प्रचारको अन्तिम दिन उनले भने, ‘मोदी साहबले जे खान्छन्, त्यो तपाईंले खान सक्नुहुन्न किनकि त्यो गरीबको खाना होइन ।’

अल्पेश थप्छन्, ‘मैले त्यो खानेकुरा कुन हो भनी सोध्दा मलाई बताइयो, त्यो ताइवानबाट मगाइएको च्याउ हो । ताइवानबाट ल्याइएको च्याउको ८० हजार भारु पर्छ र मोदी साहब दिनदिनै पाँचवटा यस्ता च्याउ खान्छन् । 

मैले उनी यसरी च्याउ प्रधानमन्त्री भएदेखि खान थालेका हुन् भनी सोध्दा उनी मुख्यमन्त्री बनेदेखि खान थालेको भन्ने जवाफ आयो । 

अनि मैले पनि सोच्न थालें, उनी त मजस्तै काले थिए, कसरी यति गोरा भए ? मैले ३५ वर्षपहिले उनको तस्वीर हेर्दा उनी मजस्तै काले थिए । 

जुन प्रधानमन्त्रीले दिनदिनै चार लाख भारु पर्ने च्याउ खान्छन्, उनी महिनाको एक करोड २० लाख भारु सक्छन् । उनलाई रोटी र भात मीठो लाग्दैन । उनी देखावटी गर्छन् ।’

यो बयान सार्वजनिक भएपछि सामाजिक सञ्जालमा रमाइला टिप्पणी आउन थाले । 

तर यो बयानलाई गम्भीरतापूर्वक अध्ययन गर्दा च्याउ, त्यसले स्वास्थ्यलाई दिने लाभ र ताइवानका बारेमा जानकारी लिनुपर्ने हुन्छ । 

च्याउ फंगसबाट बन्छ । कुनै कुनै च्याउ खानलायक हुन्छ भने कुनै चाहिँ विषालु हुन्छ । 

यस्ता विषालु च्याउ खाँदा पेट दुख्ने वा उल्टी आउने समस्या हुन्छ । कुनैले चाहिँ मृत्यु पनि गराउन सक्छन् । 

खानलायक च्याउमा प्रोटीन र फाइबर हुन्छ । भिटामिन बी पनि यसमा हुन्छ र सेलेनियमजस्तो एन्टीअक्सिडेन्ट पनि हुन्छ । 

च्याउले रोगप्रतिरोधक क्षमता बढाउँछ र कोषिकालाई हुने हानि रोक्छ । च्याउले डीएनएमा हुने हानिलाई रोकेर क्यान्सरबाट पनि बचाउँछ । 

च्याउ यौन शक्तिवर्द्धक पनि हुन्छ किनकि यसमा पर्याप्त मात्रामा जिंक हुन्छ । यसले पुरुषमा सेक्स हर्मोन टेस्टोस्टेरोनको मात्रा बढाउँछ । 

ताइवानको च्याउको कुरा गर्नुपर्दा त्यहाँ शताब्दियौंदेखि च्याउ खेती भइरहेको छ । सन् १९५० देखि च्याउ खेती उद्योगका रूपमा विकसित भयो । 

च्याउ उत्पादनको शुरुवात जियाबाओ जस्ता पहाडी इलाकाहरूमा भयो । त्यो समुद्री सतहभन्दा ९१५ मिटको उचाइँमा छ । त्यहाँका किसानहरूले पश्चिमी क्षेत्रमा च्याउखेतीको गढ बनाए । 

एउटा रिपोर्टमा बताइएअनुसार, ताइवानले सबभन्दा पहिले क्यान र बोतलमा राखेर च्याउको निर्यात सन् १९६० देखि व्यापारिक रूपमा गर्न थाल्यो । 

सन् १९६३ सम्मा ताइवान च्याउको सबभन्दा ठूलो निर्यातक राष्ट्र थियो । संसारभरि निर्यात हुने च्याउको एक तिहाइ भागमा ताइवानकै नियन्त्रण थियो ।

पछि चीन र दक्षिण कोरियाले पनि च्याउ उत्पादन बढाएर निर्यात गर्न थाले । 

जापानले पनि च्याउ उत्पादनमा कदम जमाउने कोशिश गरिरहेको छ तर ताइवान अझै पनि यसमा बलियो खेलाडी हो । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्