जेनजीहरूले मंगलबार गरेको देशव्यापी प्रदशर्नमा भएको तोडफोड र आगजनीपछि देशका विभिन्न कारागारबाट कैदीबन्दीहरू भागेका छन् । कुन कारागारबाट कति कैदीबन्दी भागे भन्ने यकिन तथ्यांक कारागार व्यवस्थापन विभागसँग पनि छैन ।
लोकान्तरको सम्पर्कमा आएका विभागका महानिर्देशक लीलाप्रसाद शर्माले भने, ‘हामीले पनि बाहिर सुनेका सूचना मात्रै हुन्, कुन कारागारबाट कति कैदीवन्दी भागे भन्ने यकिन तथ्यांक छैन ।’
उनले सम्बन्धित जिल्लाका सीडीओसँग समन्वय गरेर तथ्यांक जुटाउने काम भइरहेको बताए ।
ललितपुरको नख्खु कारागारबाट राट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनकपुर बम विष्फोटका नाइके भनिएका सञ्जय साह टक्लाले जेलबाट बाहिर निस्किएर प्रतिक्रिया नै दिइसकेका छन् । अरू थुप्रै कैदीबन्दी जेलभित्रबाट झोला बोकेर बाहिर निस्किएको दृश्य देखिन्थ्यो ।
जबर्जस्ती करणी मुद्दा, कर्तव्य ज्यान मुद्दा, लागुऔषधलगायत अपराधमा सजाय काटिरहेकाहरू जेलबाट बाहिर निस्किएका छन् ।
तनहुँ कारागार, नख्खु कारागार, भक्तपुर कारागार, कैलाली कारागार, कास्की कारागार, धनगढी कारागार, जाजरकोट कारागार, महोत्तरीको जलेश्वर कारागार, दाङको तुल्सीपुर कारागार, कञ्चपनुर कारागारबाट ठूलो संख्यामा कैदीबन्दी भागेका छन् ।
जघन्य प्रकृतिका अपराधमा कैद भुक्तान गरिरहेका कैदीबन्दी भागेपछि सर्वसाधरणमा समेत त्रास उत्पन भएको छ ।
विभागका महानिर्देशक शर्माले स्थिति समान्य नभई कति कैदीबन्दी भागे भन्ने यकिन तथ्यांक नआउने बताए । उनले सम्बन्धित जिल्लाकै सीडीओले मात्रै सुरक्षाकर्मीको सहायतामा कारागारको अवस्था र कैदीबन्दीको स्थितिबारे जानकारी राख्न सक्ने बताए ।