
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले मुलुक अहिले गम्भीर संकटमा परेको बताउँदै यसको समाधान वैधानिक बाटोमार्फत खोज्नुपर्नेमा जोड दिएका छन्।
शर्माले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताले भ्रष्टाचार र राजनीतिक स्थायित्वका लागि सुरु गरेको आन्दोलनमा सरकारले गरेको दमन र नरसंहारको भर्त्सना गर्दै सहादत प्राप्त सबैप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना प्रकट गरेका छन्।
उनले आन्दोलनमा उठाइएका पवित्र उद्देश्यका मुद्दाहरूलाई दमन गरेर सरकारले गलत सन्देश दिएको उल्लेख गर्दै मुलुक सरकारविहीन अवस्थामा पुगेको र सर्वसाधारण असुरक्षित बनेको दाबी गरे। शर्माले भने, 'जनताको सुरक्षा सुनिश्चित गर्नु र त्यसपछि मुलुकलाई राजनीतिक निकास दिनु सरकार र दलहरूको पहिलो दायित्व हो।'
शर्माले भ्रष्टाचार अन्त्य गर्न शक्तिशाली स्वतन्त्र छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याए। हालको अराजक परिस्थितिको मूल कारण सरकारमा रहेका दलका नेताहरूको परिवारवाद, कुर्सी मोह र अहंकारी प्रवृत्ति रहेको उनको आरोप छ।
उनले हाल देखिएको अराजक अवस्था र राजनीतिक नेतृत्वको कमजोरीका कारण मुलुकले गम्भीर क्षति भोगिरहेको भन्दै वैधानिक बाटो मार्फत मात्र वर्तमान संकट समाधान हुन सक्ने बताए। उनले भने, 'संविधान बाहिर सरकार गठन गरिएमा राज्यका सबै निकायको वैधानिकता माथि प्रश्न खडा हुन्छ, जसले अकल्पनीय संकट निम्त्याउन सक्छ।'
उनले अन्तरिम सरकार गठनका क्रममा जेनजी पुस्ताको समेत अपनत्व हुने गरी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए। संविधानको रक्षा गर्न नसके थप अराजकता उत्पन्न हुने चेतावनी दिँदै उनले आन्दोलनले उठाएका नारालाई सफल पार्न सबैलाई वैधानिकताको आत्मसात् गर्न समेत आह्वान गरे।